ट्वान्टी २० विश्वकप

ट्वान्टी२० विश्वकप क्रिकेटमा आइसीसीलाई सुरक्षाको चिन्ता

दुबई । आइसीसीले पाकिस्तान र अफगानिस्तानबीच शुक्रबार सम्पन्न ट्वान्टी२० विश्वकप खेल दौरान मैदानको मुख्य गेटमा भएको अनावश्यक भिडभाडप्रति चिन्ता व्यक्त गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल हेर्नका लागि विना टिकटका समर्थक मैदान प्रवेश गर्न खोजेपछि मुख्य गेटमा केहीबेर विवाद भएको थियो । 

आइसीसीले यस घटनाबारे छानबिन गर्न इमिरेट्स क्रिकेट बोर्ड (इसीबी) लाई आग्रह गरेको छ ।

यसअघि २०१९ मा यी दुई टोलीबीच भएको एक दिवसीय क्रिकेटमा पनि विना टिकट मैदान प्रवेश गर्न खोज्ने दर्शकका कारण खेल प्रभावित बनेको थियो ।

यसैकारण शुक्रबारको खेल सुरु हुनुपूर्व अफगानिस्तानका स्पिनर राशिद खानले समर्थकहरुलाई ‘शान्त रहन र खेलको आनन्द लिन आग्रह गरेका थिए ।

तर दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विना टिकट प्रवेशका लागी समर्थकहरुको ठुलो भिड लागेपछि केहीबेर झडपको स्थिती र्सिजना भएको थियो ।

घटनापछि एक विज्ञप्ती जारी गर्दै आइसीसीले पाकिस्तान र अफगानिस्तानबीचको खेलका लागी १६ हजार टिकट बिक्रीका लागी राखिएपनि  हजारौं समर्थकहरु जबरजस्ती मैदान प्रवेश गर्न खोजेको जनाएको छ ।

‘आइसीसी इसीबीलाई आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भन्ने सुनिश्चित गर्नुका साथै घटनाका बारेमा गहिरो छानविन गर्न आग्रह गर्दछ,’ आइसिसीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ  ।

सो खेलमा पाकिस्तानले अफगानिस्तालाई पाँच विकेटले पराजित गरेको थियो ।