त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला

त्रिकोणात्मक शृंखलाः नेपाललाई हराउँदै युएई च्याम्पियन

काठमाडौं । घरेलु टोली नेपाललाई चार विकेटले स्तब्ध बनाउँदै संयुक्त अरब इमिरेट्स (युएई) त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको च्याम्पियन बनेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार नेपालले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य युएईले एक बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टायो ।

युएईका लागि कप्तान मोहम्मद वासिमले ४५, वृत्य अरविन्दले २६, आर्यन्श शर्माले २५, बसिल हामिदले अविजित २२, अलिशान शराफुले १३ र अली नासिरले ११ रन बनाए ।

पहिलो विकेटका लागि वासिम र शर्माले ७१ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि अविनाश बोहरा र गुल्सन झाले समान दुई तथा कुशल मल्लले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ६२ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले २८ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी करण केसीले अविजित २३, दीपेन्द्रसिंह ऐरीले २०, कप्तान रोहितकुमार पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन बनाए ।

पहिलो विकेटका लागि कुशल भुर्तेलले र आसिफ शेखले ४३ रनको साझेदारी गरेका थिए । आसिफ सात रन बनाएर आउट भए ।

युएईका लागि आयन अफ्जल खानले चार, जाहुर खान र अली नासिरले समान दुई तथा जुनैद शिद्धिकीले एक विकेट लिए ।

नेपालले लिग चरणमा युएई र हङकङविरुद्ध भएको चार खेल नै जितेको थियो । नेपाल तीन टोली सहभागी शृंखलामा चार खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइलनमा स्थान बनाएको थियो । 

नेपालले पहिलो खेलमा युएईलाई सात विकेट, दोस्रो खेलमा हङकङलाई ६ विकेट, पुनः तेस्रो खेलमा हङकङलाई ७९ रन र अन्तिम खेलमा युएईलाई पाँच विकेटले हराएको थियो ।

युएईले एक खेलमात्रै जितेको थियो । हङकङलाई नेट रनरेटले पछि पारेको हो । युएई पहिलो खेलमा हङकङलाई ६ विकेट हराएको थियो भने दोस्रो खेलमा हङकङसँग ६९ रनले पराजित भएको थियो।