एपेक्स कप क्रिकेट

एपेक्स कप क्रिकेटः ब्लुबर्ड फाइनलमा

काठमाडौं । ब्लुबर्ड कलेज काठामाडौं विश्वविद्यालयविरुद्ध ७६ रनको सहज जित निकाल्दै एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मुलपानी क्रिकेट रंगशाला (तल्लो) मा सोमबार ब्लुबर्डले प्रस्तुत गरेको १ सय १३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२.३ ओभरमा ३६ रनमै समेटियो । काडमाडौंका लागि रोहित सापकोटाले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ब्लुबर्डका लागि अविनाश बस्यालले ३.३ ओभरमा ११ रन खर्चिदै ५ विकेट लिए । यसैगरी कौशल रुपाखेती र सुवास खत्रीको नाममा समान २ विकेट रह्यो ।

त्यसअघि पहिला ब्याटिङ गरेको ब्लुबर्डले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रनको योगफल तयार पारेको थियो ।  ब्लुबर्डका लागि सचिन लेखकले २९, निर्भिक पाठकले १९ र रोनिम तिवारीले १७ रन बनाए ।

काठमाडौंका लागि ऋषभ खतिवाडले ४ ओभरमा १४ रन खर्चिदै ५ विकेट लिए । यसैगरी रोहित सापकोटाले ३ र सितल न्यौपानेले १ विकेट हात पारे ।

ब्लुबर्डले उपाधिका लागि मंगलबार फोनिक्स कलेजको सामना गर्नेछ । फोनिक्स केसिएमआइटीलाई ४ विकेटले पराजित गदैै फाइनल पुगेको हो ।