१९ औं एसियाली खेलकुद

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी भएर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्य दिवाकर घले, राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का निमित्त सदस्यसचिव प्रकाशकुमार कुसारी लगायतले स्वागत गरेका थिए ।

भारतसँग २३ रनले पराजित हुँदा नेपाल क्वार्टरफाइनलबाट बाहिरिएको थियो । समूह चरणमा नेपालले मंगोलियालाई २ सय ७३ रन र माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको थियो ।

मंगोलियाविरुद्ध नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक योगफल, सर्वाधिक रन अन्तरको जित लगायताका  विश्वकीर्तिमान कायम गरेको थियो । यसैगरी कुशल मल्ल कम बलमा शतक र दीपेन्द्रसिंह ऐरी अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए ।

कुशलले ३४ बलमा शतक बनाउँदा दीपेन्द्र मात्र ९ बलमा अर्धशतक पूरा गरेका थिए ।