आइसिसी एकदिवसीय विश्वकप छनोट

एकदिवसीय विश्वकप छनोट: वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोवल क्वालिफायर) को तेस्रो खेलमा वेस्ट इन्डिजसँग एक सय एक रनको हार ब्यहोरेको छ ।

एकदिवसिय अन्तर्राष्ट्रियमा नेपालको यो रनको आधारमा सबैभन्दा ठूलो हार हो । यसअघि आइसिसी विश्वकप लिग-२ अन्तर्गत सन् २०२२ मा युएईविरुद्ध ब्यहोरेको ९९ रनको हार सबैभन्दा ठूलो थियो । 

यससँगै लगातार दोस्रो जित निकालेको  वेस्ट इन्डिजले समूह‘ए’ मा चार अंक जोडेको छ । तीन खेलमा दोस्रो पराजय ब्यहोरेको नेपालले दुई अंक जोडेको छ ।

पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकामाथि ३९ रनको जित निकालेको थियो ।

जिम्बावेको हरारे स्पोर्टस क्लबमा बिहीबार सम्पन्न खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको तीन सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा दुई सय ३८ रनमा समेटियो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले पाएको यो सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईले प्रस्तुत गरेको तीन सय १० रनको लक्ष्य नेपालका लागि सर्वाधिक थियो ।

नेपालका लागि आरिफ शेखले ९३ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी गुल्सन झाले ४२, कप्तान रोहितकुमार पौडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ तथा  दीपेन्द्रसिंह ऐेरीले २३ रन जोडे ।

सातौं विकेटका लागि आरिफ र गुल्सनले ६८ रनको साझेदारी गरे ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले तीन, अल्जारी जोसेफ, किमो पउल र अकिल हुसेनले समान दुई तथा कायल मेयर्सले एक विकेट लिए ।  

यसअघि हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान साइ होपले एक सय २९ बलमा १० चौका र तीन छक्को मद्दतमा एक सय ३२ रनको योगदान गरे । यसैगरी निकोलस पुरनले ९४ बलमा १० चौका र चार छक्काको मद्दतमा एक सय १५, ब्रेन्डन किंगले ३२, रोभमन पावेलले २९ र जेसन होल्डरले अविजित १६ रन जोडे ।

चौथो विकेटका लागि होप र पुरनले दुई सय १६ रनको साझेदारी गरे ।

नेपालका लागि ललितनारायण राजवंशीले तीन तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए ।

अब समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।