सप्तरी प्रिमियर लिग

सप्तरी प्रिमियर लिगः छिन्नमस्ता र कन्चनरुप विजयी

राजविराज।  सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगमा मंगलबार छिन्नमस्ता लायन्स र कन्चनरुप राइनोज विजयी भएका छन्।

दिनको पहिलो खेलमा छिन्नमस्ताले राजविराज द किंगलाई ३६ रनले हरायो ।

पब्लिक विन्देश्वरी मैदानमा छिन्नमस्ताले प्रस्तुत गरेको एक सय ५९ लक्ष्य पछ्याएको राजविराज १९ ओभरमा एक सय  २२ रनमा समेटियो ।  

राजविराजका लागि अभिषेक कार्कीले ४१, विक्रम सोबले २८ तथा तृतराज दासले १८ रन बनाए।

छिन्नमस्ताका लागि रेवती रायले तीन, इम्रान शेख र पप्पु यादवले समान दुई तथा कमल खत्री र नितेश यादले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको छिन्नमस्ताले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५८ रनको योगफल तयार पारेको थियो ।

छिन्नमस्ताको लागि राहुल मण्डलले ४० बलमा पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । यसैगरी शुभ कंसाकारले ३२, हिमांशु दत्त र पप्पु यादवले समान १६ तथा कप्तान शरद भेषवाकरले ११ रन जोडे।

राजविराजका लागि  अभिषेक कार्की , तृतराज दास र सन्तोष कार्कीले समान दुई तथा विक्रम सोबले एक विकेट लिए।

दिनको दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई सात विकेटले हरायो।

बलानले प्रस्तुत गरेको एक सय ३८ रनको लक्ष्य कन्चनरुपले १५ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो।

कन्चनरुपको लागि अमित यादवले ४२ बलमा आठ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए । यसैगरी सुमित श्रेष्ठले अविजित २७, राकेश कामतले २३ र अविनाश कर्णले २१ रन जोडे।

चौंथो विकेटको लागि अमित र सुमितले अविजित ६७ रनको साझेदारी गरे।

बलानका लागि बसिर अहमदले दुई तथा रोविन सिंहले एक विकेट लिए।    

यसअघि टस जितेर ब्याटिङ रोजेको बलानले १७.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रनको योगफल तयार पारेको थियो ।

बलानका लागि पवन सरार्फले २७ बलमा पाँच चौका र चार छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए। यसैगरी बसिर अहमदले २० तथा हसिम अन्सारीले १३ रन जोडे ।

कन्चनरुपका राशिद खान, चित्र विस्ट, पप्पु यादव र सुमित श्रेष्ठले समान विकेट लिए।

प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा विहान ९ बजे राजविराज द किंग र बजाज खडक वारियर्स तथा दोश्रो खेलमा दिउँसो १ बजे कन्चनरुप राइनोज र रुपनी राइडर्स प्रतिस्पर्धा गर्नेछन्।