पाेखराका कप्तान विनोद र ब्याटर लेभीलाई जरिवाना

काठमाडौं, (खेलाडी)- पोखरा राइनोजका कप्तान विनोद भण्डारी र ब्याटर रिचार्ड लेभी कारवाहीमा परेका छन् । 

एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज (बिहीबार) सम्पन्न पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको दोस्रो क्वालिफायरमा ओभर गति सुस्त गराएको भन्दै विनोदलाई म्याच फीको २० प्रतिसत र क्लबका बाँकी खेलाडीमाथि १० प्रतिसत जरिवाना लगाएको हो । 

त्यस्तै सोही खेलमा पोखराका रिचार्ड लेभीले खेल भावना विपरीत कार्य गरेको भन्दै आयोजकले म्याच फीको ५० प्रतिसत जरिवानासहित तीन डिमेरिट प्वाइन्ट दिएको छ । 

विनोद र लेभीलाई म्याच रेफ्री मोहमद सफिकको सिफारिसमा कारवाही गरिएको हो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा भैरहवालाई सात विकेटले पराजित गर्दै पोखराले प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । 

पोखराले शनिबार फाइनलमा चितवन राइनोजसँग प्रतिपस्पर्धा गर्नेछ । चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै पराजित गर्दै फाइनलको टिकट काटेको थियो ।