एसिसी प्रिमियर कप

बहराइनले दियो कुवेतलाई दुई सय ५६ रनको लक्ष्य

काठमाडौं । इमरान अनवरको अर्धशतकप्रेरित बहराइनले एसिसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कुवेतसामू दुई सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ५५ रनको योगफल तयार पारेको थियो ।

बहराइनका लागि आक्रमक ब्याटिङ गरेका इमरानले १९ बलमा ५ छक्का र ४ चौकको मद्दतमा सर्वाधिक ५३ रन बनाए । यसैगरी फैज अहमदले ४८, जुनैद अजिजले ३६, कप्तान हैदर बट र सोहेल अहमदले समान ३४, रिजवान बटले अविजित १९ तथा  शहबाज बदरले १६ जोडे ।

पाँचौं विकेटका लागि फैज र हैदरले ८१, सातौं विकेटका लागि इमरान र रिजवानले ६५ तथा तेस्रो विकेटका लागि जुनैद र सोहेलले ५७ रनको साझेदारी गरे ।

कुवेतका लागि सैयद मोनिबले ४, शाहरुख क्युदुसले २ तथा अदनान इद्रिसले १ विकेट लिए ।

बहराइन लगातार दोस्रो जितको खेजीमा छ । पहिलो खेलमा बहराइनले सिंगापुरलाई एक सय ३२ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा युएईसँग एक सय ४३ रनले पराजय ब्यहोरेको कुवेत पहिलो जित निकाल्ने लक्ष्यमा छ ।