लखनउलाई शीर्ष स्थानमा उक्लिने अवसर

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार घरेलु मैदानमा साबिक विजेता गुजरात टाइटन्सको सामना गर्दा लखनउ सुपर जायन्टसलाई शीर्ष स्थानमा उक्लिने अवसर हुनेछ ।

लखनउ र गुजरातबीचको खेल एकान स्पोर्टस सिटीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।  लखनउ ६ खेलमा ४ जित र २ हारको नतिजासहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको राजस्थानसँग समान अंक भए पनि लखनउ नेट रन रेटमा पछि परेको हो ।

केएल राहुलको कप्तानीमा रहेको लखनउ मार्कुस स्टोइनिस, कायल मेयर्स, रवी विश्नोइ, निकोलस पुरन जस्ता खेलाडीको साथ मैदान उत्रिनेछ ।

गुजरात पनि लखनउलाई स्तब्ध बनाउँदै अंक तालिका सुधार गर्न चाहन्छ । गुजरात ५ खेलमा ३ जित र २ हारको नजितासहित ६ अंकका साथ चौथो स्थानमा छ ।

हार्दिक पाण्ड्या कप्तान रहेको गुजरातलाई राशिद खान, मोहम्मद सामी, शुमभन गिल, डेविड मिलर जस्ता खेलाडीको साथ रहनेछ ।

यसैगरी मुम्बईस्थित वान्खडे स्टेडियमा साँझ ७ः४५ बजे सुरु हुने खेलमा मुम्बईले पन्जाब किंग्सको सामना गर्नेछ ।

पछिल्ला ३ खेलमा जित निकालेको मुम्बई आज पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । रोहित शार्माको कप्तानीमा मैदान उत्रिने मुम्बई ५ खेलमा ३ जित र २ हारको नतिजासहित ६ अंक जोडेर छैटौं स्थानमा छ ।

पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरसँग पराजय ब्यहोरेको पन्जाब मुम्बईलाई स्तब्ध पार्दै जितको लय समात्ने प्रयासमा छ । शिखर धवन कप्तान रहेको पन्जाब ५ खेलमा ३ जित र २ हारको नतिजासहित ६ अंकका साथ सातौं स्थानमा छ ।