राष्ट्रिय महिला भलिबल

शेरबहादुर खड्का स्मृति भलिबल बैशाख दाेस्रो साता

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बैशाख १२ देखि १५ सम्म केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको सातौं संस्करण त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछ ।

प्रतियोगितालाई केएनपी नेरोलेकले मुख्य प्रायोजन गरेको छ । केएनपिएका कन्ट्री हेड मनोजकुमार मिश्र र शेर बहादुर स्मृति प्रतिष्ठानका संरक्षक गमला खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

प्रतियोगितामा साविक विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने बताइएको छ ।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन्। विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार र हरेक खेलको ‘प्लेयर अफ दी म्याच’ले १५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश र विभिन्न कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् । प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेको बताइएको छ ।