आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

आर्मी सोझो सेटमा विजयी

फाइल तस्विर

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा आर्मीले न्युटन क्लबलाई ३-०को साझो सेटमा पराजित गर्यो । आर्मीले खेल २५-१५, २५-१२, २५-२०ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै समूह ‘डी’ को आर्मीले दुई खेलमा ६ अंक जोडेको छ । दुवै खेममा पराजित न्युटन अंकविहिन छ ।

पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई २९-२७, २५-१९, २५-१७ ले हराउँदा न्युटन मणिमुकुन्द भलिबल क्लबसँग २७-२९, २३-२५, २३-२५ ले पराजित भएको थियो । 

सोमबार नै पुरुषतर्फ गण्डकी प्रदेशले मणिमुकुन्दलाई २५-१८,२५-१४, २७-२९ २५-१९ तथा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले बूढानीलकण्ठ भलिबल क्लबलाई २५-१९, २५-१४, २५-२२ ले पराजित गरे ।

यसैगरी महिलातर्फ न्यु डायमन्ड स्पोर्टस क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबलाई २५-१७, १७-२५, २५-१५,२५-२३ ले हराउँदै सुखद सुरुआत गर्यो ।  एभरेष्ट भलिबल क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई २४-२६, २५-१७, २५-१९, २५-२२ ले स्तब्ध बनाउँदै लगातार दोस्रो जित निकाल्यो ।