टेबल टेनिस

बालबालिकालाई ब्याट र बल वितरण

काठमाडौं । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघको ‘खेलबाट सामुदायिक विकास’ भन्ने  कार्यक्रम अन्तर्गत स्ट्याग सरोज टेबलटेनिस ४ अल क्लबले बालबालिकालाई टेबलटेनिस ब्याट र बल वितरण गरेको छ ।

नेपालका लागि स्ट्यागका आधिकारिक प्रशिक्षक नरेश रावलले क्लबको वार्षिक कार्यक्रम भएको र वर्षभरि विभिन्न कार्यक्रम मार्फत झण्डै एक सय बालबालिकालाई ब्याट र बल प्रदान गर्ने गरिएको बताए ।

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैले सहभागीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै टेबलटेनिस खेल्न उत्प्रेरित गरे । 


अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय अम्पायर,विश्व टेबल टेनिस दिवस २०२१ र २०२२ का आधिकारिक प्रवद्धक  रावलले यस कार्यक्रमको मुख्य उद्देश्य बच्चाहरूलाई टेबलटेनिस खेल्नको लागि रुची, प्रोत्साहन र उत्प्रेरित गर्नु रहेको जानकारी दिए । उनले कार्यक्रममा टेबलटेनिसका केही अभ्यास बालबालिकालाई देखाएका थिए ।
 

क्लबले विगत तीन वर्षदेखि  अर्थिक अवस्था कमजोर रहेका बालबालिकालाई टेबलटेनिस प्रशिक्षण,खेलकुदका सामग्री र उपकरणहरू निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।