बागमती गोल्डकप

भुटनिज युथ च्याम्पियन

फाइल तस्बिर

काठमाडौं । अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाईएससी) ले बागमती गोल्डकपको पाँचौं संस्करणको च्याम्पियन बनेको छ ।

बिवाईएससीले मंगलबार सम्पन्न फाइनल खेलमा संकटा क्लबलाई पेनाल्टी सुटआउटमा८–७ ले पराजित गरेको हो ।निर्धारित ९० मिनेट र अतिरिक्त समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । 

यस जितसँगै बिवाईएससीले गत साता आहा रारा पोखरा गोल्डकपको फाइनलमा ब्यहोरेको हारको बदला पनि लिएको छ । 

खेलको पहिलो र छैटौं मिनेटमा प्रविन बस्नेतले गोल गर्दै बिवाईएससीलाई २–० को अग्रता दिलाएका थिए ।

सुनिल बलले नवौं र २२ औं मिनेटमा गोल गर्दै संकटालाई २–२ को बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

बिवाईएससीले उपाधिसहित आठ लाख तथा उपविजेता संकटा क्लबले चार लाख रुपैयाँ प्राप्त गरेको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।