इङ्लिस प्रिमियर लिग

एज्पिलिक्युएटा २०२४ सम्म चेल्सीमै

लन्डन । चेल्सीका कप्तान सिजर एज्पिलिक्युएटा सन् २०२४ सम्मको लागि चेल्सीमै रहने भएका छन् ।

लामो समय चेल्सीको कप्तानी सम्हालेका एज्पिलिक्युएटाको स्टाफोर्ड ब्रिजमा एक वर्षको सम्झौता अबधी बाँकी थियो । स्पेनिस ला लिगाको क्लब बार्सिलोना जाने चर्चा चलिरहँदा उनले चेल्सीमै रहने निर्णय गरेका हुन् ।

३२ वर्षीय स्पेनिस रक्षक सन् २०१२ अगस्टमा मार्सेलीबाट चेल्सीमा अनुबन्ध भएका थिए ।

उनले चेल्सीबाट दुई पटक प्रिमियर लिग, एफए कप, लिग कप, च्याम्पियन्स लिग, दुई पटक युरोपा लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेका छन् ।

‘चेल्सीमा नै बस्न पाउँदा धेरै खुशी छु । क्लबसँग जोडिएको १० वर्ष भएको छ । नयाँ योजनामा सामेल हुन पाउँदा धेरै खुशी र उत्साहित छु,’ उनले भने, ‘क्लब व्यवस्थापनप्रति आभारी छु ।'

चेल्सीले यो सिजन प्रिमियर लिगको पहिलो खेलमा शनिबार एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ ।  एज्पिलिक्युएटाले गत सिजन चेल्सीबाट ४७ खेल खेलेका थिए ।