इङ्लिस प्रिमियर लिग

प्रिमियर लिगको रौनक

लन्डन । लन्डन डर्बीमा आर्सनलको क्रिस्टल प्यालेस भ्रमणसँगै शुक्रबारबाट इङलिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुँदैछ । 

गत सिजन प्रियिमर लिगको विजेता र रेलिगेशनमा पर्ने टोलीको टुङगो अन्तिम दिनमा मात्र लागेको थियो । जसले लिगलाई थप रोमाञ्चक बनाएको थियो । २०२२–२३ सिजनमा पनि रोमाञ्चक हुनेमा दुबिधा छैन । 

साविकको विजेता म्यानचेस्टर सिटी र उपविजेता लिभरपुलले टोलीमा नयाँ स्ट्राइकर थप गरेका छन् । सिटीले एर्लिङ हाल्यान्डलाई अनुबन्ध गर्दा लिभरपुलले भने डार्विन नुनेजलाई भित्राएको छ ।

चेल्सी र अर्सानलले पनि आफूलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्ने क्रममा सरुवा बजारमा महंगो रकम खर्चिएका थिए । चेल्सीले सिटीका रहिम स्टर्लिङलाई स्टामफोर्ड ब्रिज भित्राउँदा आर्सनलले सिटीका ग्याब्रियल जिसस र ओलेक्जेन्डर जिचेन्कोलाई ल्याएको छ । 

यता गत सन् २००८ पछि उपाधि खडेरी तोड्ने लक्ष्यमा रहेको टोटनहमले नयाँ सिजनका लागि रिचार्लिसन, इभान पेरिसिच र याभेस बिसोउमालाई ल्याएको छ । 

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले जाडोन सान्चो, मार्कुस रासफोर्ड र एन्थोनी मार्सियाललाई ओल्ड ट्राफोर्डमै राख्न सफल भएका थिए ।

त्यस्तै नयाँ सिजनका लागि युनाइटेडले डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिकसनलाई पनि अनुबन्ध गरेको छ ।

यस्तै वेस्ट हम लगातार तेस्रो पटक युरोपा लिगको छनोटमा स्थान बनाउने लक्ष्यमा हुनेछ भने न्युक्साल युनाइटेड पनि स्थान सुधार गर्ने योजनामा हुनेछ ।

गत सिजन एभर्टन र लिड््स य्ुनाइटेडले रेलिगेशन टारेका थिए । यी दुवै क्लब यस सिजनको सुरुआतबाटै सुखद नतिजाको अपेक्षामा हुनेछन् ।

सबैको नजर भने २३ वर्ष पछि प्रिमियर लिगमा पुनरागमन गरेको नटिङघम फरेस्टमा हुनेछ । एफसी बर्नामाउथ र फुलहम भने शीर्ष डिभिजनको हैसियत जोगाउने लक्ष्यमा हुनेछन् ।

कतार विश्वकप २०२२ नोभेम्बर २१ देखी डिसेम्बर १८ सम्म संचालन हुनेछ । त्यसैले यो सिजन यसअघिको भन्दा फरक रहनेछ ।