एन्फा

कञ्चनपुर फुटबलमा चन्दको नेतृत्व निरन्तर

काठमाडौं । कञ्चनपुर जिल्ला फुटबल संघमा गणेशबहादुर चन्दको नेतृत्वले निरन्तरता पाएको छ ।

आगामी चार वर्षे कार्यकालका लागि बिहीबार महेन्द्रनगरमा भएको चुनावी साधारणसभाले अध्यक्षमा चन्दलाई पुन निर्वाचित गरेको हो । कुल १३ मत मध्ये चन्दले ११ मत हासिल गरेका थिए । अध्यक्षमा पराजित उम्मेदवार भिमबहादुर थापाको पक्षमा दुई मत मात्र परेको थियो ।

दूई प्यानल भएर चुनावमा सहभागि हुँदा चन्दको पूरा प्यानल विजयी भएको थियो । उपाध्यक्षमा केशव चन्द .(१३), दाउत तामाङ (११) र रमेश चन्द (१०) निर्वाचित भए । चार मतमात्र हासिल गरेका पदमबहादुर चन्द पराजित भए ।

यसैगरी १० सदस्य पदका लागि भएको निर्वाचनमा १२ जनाको उम्मेदवारी परेको थियो । जसमा कमलेश सिंह (११), दीपकसिंह बोहरा (१०), प्रजापती भट्ट (१०), बलबहादुर जागरी (९), भिमबहादुर चन्द (११), महेश चन्द (१०), राजप्रताप सिंह (११), सुकबहादुर तामाङ (११), शंकर चन्द (११) र हेलन श्रेष्ठ (११) निर्वाचित भए । ६ मतमात्र हासिल गरेका महेन्द्र चन्द र तीन मत पाएका राजेन्द्र थापा पराजित भए ।

महिला महिला सदस्यका लागि भएको निर्वाचनमा महेन्द्रा भट्ट ९ मत प्राप्त गर्दै विजयी भइन । उनकी प्रतिस्पर्धी मञ्जु शाहीले दुई मत प्राप्त गरेकी थिइन ।

पूरा प्यानलसहित विजयी भए पछि अध्यक्ष चन्दले आगामी चार वर्षे कार्यकालमा सम्पूर्ण जिल्लाका फुटबलकर्मीहरुलाई एकजुट बनाएर फुटबल विकासमा समर्पित हुने प्रतिक्रिया दिए ।

‘हामीले कञ्चनपुर जिल्लाको फुटबलमा धेरै काम गरेका छौं र अझ धेरै गर्न बाँकी छ । बाँकी रहेका काम आगामी चार वर्षे कार्यकालमा गर्नेछौं । सँगै चुनावमा दुई पक्ष भएर मैदानमा उत्रिए पनि फुटबल विकासमा सबै साथीहरुलाई समेटेर अघि बढ्नेछु,’ खेलाडीसँगको कुराकानीमा चन्दले भने, ‘कञ्चनपुर जिल्लाको फुटबल विकास गर्ने अभियानमा फेरी पनि मलाई नेतृत्वको जिम्मेवारी दिने साथीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । तपाईहरुको विस्वासमा खरो उत्रिएर आउँदो चार वर्ष तपाईहरुले नै दिएको जिम्मेवारी पूरा गर्ने काममा समर्पित हुनेछु ।’