पेप ग्वार्डिओला

हामीले मौका गुमायौं: ग्वार्डिओला

लन्डन । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आइतबार राति लिभरपुलविरुद्धको बराबरीपछि आफ्नो टिमले अवसर गुमाएको प्रतिक्रिया दिएका छन् । घरेलु मैदान इतिहादमा भएको खेलमा दुई पटक लिएको अग्रता बचाउन नसक्दा सिटी २–२ गोलको बराबरी खेल्दै लिभरपुलसँग अंक बाँड्न बाध्य भयो ।

‘दुवै क्लबले अब सात खेल खेल्न बाँकी छ, ती सबै जित्नै पर्ने बाध्यता छ,’ ग्वार्डिओलाले खेलपछिको पत्रकार सम्मेलनमा भने, ‘मलाई हामीले एउटा अवसर गुमाएको महसुस भइरहेको छ । तर, के भयो त्यसले अब कुनै अर्थ राख्दैन । अहिले केही बिग्रएको छैन । हामीले जितेको वा हारेको भए पनि यही भन्थेँ ।’

‘हामीले के गर्नुपर्छ भन्ने हामीलाई थाहा छ, तर के हुन्छ भन्ने थाहा छैन,’ उनले भने ।

लिभरपुलका प्रशिक्षक यर्गेन क्लपले अविस्वसनीय खेल भएको प्रतिक्रिया दिए ।

‘यो एकदमै उत्कृष्ट खेल थियो । यो गेमको ‘इन्टेनसिटी’ एकदमै क्रेजी थियो,’ उनले भने, ‘यो दुई महारथीबीचको लडाईँ थियो ।’