आइपिएल

चेन्नईमाथि लखनउको जित

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा खेलमा लखनउ सुपर जायन्ट्स (एलएसजी) ले चेन्नई सुपर किङ्स (सिएसके) लाई ६ विकेटले पराजित गरेको छ ।

मुम्बईमा सम्पन्न खेलमा सिएसकेले दिएको दुई सय ११ रनको लक्ष्य एलएसजीले १९.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

एलएसजीको जितमा क्विन्टन डी कक र एभिन लेविसले अर्धशतकीय इनिङ खेले । क्विन्टनले ४५ बलमा नौ चौकासहित ६१ रन बनाउदा लेविसले २३ बलमा ६ चौका र तीन छक्कासहित ५५ रन जोडे । यसबाहेक, कप्तान लोकेश राहुलले ४०, आयुश बाडोनीले १९ र दीपक हुडाले १३ रन जोडे ।

सिएसकेका ड्वेन प्रेटोरियसले दुई तथा तुसार देसपाण्डे र ड्वेन ब्राभोले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको सिएसकेले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रनको योगफल खडा गरेको थियो ।

सिएसकेका ओपनर रोविन उत्थपाले ५० रन बनाएका थिए । यस्तै, सिवम दुबेले ४९, मोइन अलिले ३५, अम्बती रायडुले २७ र कप्तान रविन्द्र जडेजाले १७ रन बनाएका थिए ।

एलएसजीका अविस खान, एन्ड्रे टाइ र रवि विस्नोइले समान दुई विकेट लिएका थिए ।