नेपाली फुटबल

थाइल्यान्डविरुद्ध बलियो चुनौती पेश गर्ने लक्ष्यमा नेपाल

काठमाडौं । फिफा अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा भोलि (बिहीबार) नेपाल र थाईल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फिफा वरीयतामा आफूभन्दा निकैमाथि रहेको थाइल्यान्डविरुद्ध नेपाल बलियो चुनौती पेश गर्ने लक्ष्यमा हुनेछ ।

थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साझ पौने ६ बजे सुरु हुनेछ । दुबै टोलीले एएफसी एसिया कप २०२३ को तेस्रो चरणको तयारीका लागि  मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल तेस्रो चरणको समूह ‘ए’ मा रहेको छ । निकै बलियो समूहमा रहेको नेपालसँगै जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् ।

यता, थाइल्यान्ड भने समूह ‘सी’ मा छ । समूह ‘सी’ मा उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका छन् ।

फिफा वरियता र तुलनात्मक रुपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण कुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ ।

हाल थाइल्यान्ड फिफा वरियताको एक सय १२औं स्थानमा छ भने नेपाल एक सय ६७औं स्थानमा छ ।  

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै २५ सदस्यीय टोलीको घोषणा गरेका छन् ।  

मछिन्द्रले २२ चैतमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने तालिका रहेका कारण क्लबका आधा दर्जन भन्दा बढि खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् ।

स्ट्राइकर विमल घर्ति मगर, मनिष डांगी, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई ९बी०, देवेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, रेजिन धिमाललगायत खेलाडी मछिन्द्रसँग अनुबन्ध छन् ।

उनिहरुको अनुपस्थितीमा अब्दुल्लाहले युवा खेलाडी प्रशान्त अवस्थी, सुदिप गुरुङ, आकाश बुढा मगर, नविन गुरुङ र गोलरक्षक टिकेन्द्र थापालाई मौका दिएका हुन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाहले थाइल्यान्ड प्रस्थान गर्नु अघि युवा टिमबाट सकारात्मक नतिजाको आशा गरेको र सोही अनुसार रणनीति बनाएर खेल्ने बताएका छन् ।

यससँगै अब्दुल्लाहले नेपाली टोलीका लागि १५औं खेल खेलाउँदै छन् । थाइल्यान्ड पछि नेपालले थाई शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ गते खेल्नेछ ।  

नेपाली टिमः 

गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्की

रक्षकः रोहित चन्द, अनन्त तामाङ, नविन गुरुङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदिप गुरुङ, सुरज जिउ ठकुरी

मिडफिल्डरः आयुष घलान, एरिक विष्ट, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन लामा, तेज तामाङ, सुमन लामा, सुभाष गुरुङ

स्ट्राइकरः आशिष लामा, प्रशान्त अवस्थी, अन्जन विष्ट, दर्शन गुरुङ