सहिद स्मारक ‘बी’ डिभिजन लिग

सरस्वती शीर्ष स्थानमा

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा सरस्वती युथ क्लबले मध्यपुर युथ एसोसियसनलाई २–१ ले पराजित गरेको छ ।

जितसँगै पाँच खेलबाट ११ अंक जाेडेकाे सरस्वती तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । यस्तै पाँच खेलबाट तीन अंक जाेडेकाे मध्यपुर तालिकाकाे पुछारमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा सनम धिमाल पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए ।

खेलको ५१औं मिनेटमा सजिन थापामगरले गोल गर्दै मध्यपुरलाई बराबरीमा फर्काएका थिए ।

इन्जुरी समयमा कुमार दोङले निर्णायक गोल गरेपछि सरस्वतीले २–१ को जित निश्चित गर्यो ।

आजै हुने दोस्रो खेलमा श्री भगवती क्लबले रानीपोखरी कर्नर टिम (आरसिटी) विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।