युरोपियन च्याम्पियन्स लिग

मड्रिडविरुद्धको खेलका लागि पूर्णरुपमा तयार छु: नेइमार

पेरिस । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का फरवार्ड नेइमारले रियाल मड्रिडविरुद्धको खेलका लागि आफू पूर्ण फिट भएको बताएका छन् । पिएसजीले बुधबार राति च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।

सन् २०१७ मा ब्राजिलियन फरवार्ड नेइमार पिएसजी आउनुअघि उनले चार सिजन मड्रिडको चिरप्रतिद्धन्दी बार्सिलोनामा बिताएका थिए । नेइमार सम्मिलित बार्सिलोनाले २०१४–१५ मा च्याम्पियन्स लिगसहित आठ उपाधि जितेकाे थिए ।

हालसम्म पिएसजी र बार्सिलोनाबाट रियाल मड्रिडविरुद्ध ११ पटक प्रतिस्पर्धा  गरेका नेइमार तीन गोल गरेका छन् ।

तीन साताअघि मड्रिडसँगको पहिलो लेगमा नेइमारमाथि शंका गरिएको थियो । तर, पहिलो लेगमा मड्रिडविरुद्ध नेइमारले दोस्रो हाफमा १७ मिनेटमा खेलेका थिए ।

पहिलो लेगमा पिएसजीले मड्रिडलाई १–० को जित निकालेको थियो ।

‘म मड्रिडविरुद्ध सतप्रतिशत फिट छु,’ उनले भने, ‘चोटबाट फर्किन मैले सोचेकाभन्दा धेरै समय लाग्यो । तर, म अहिले टोलीलाई सहयोग गर्न मानसिक र शारीरिक रुपमा तयार छु,’ उनले भने, ‘सान्टियागो बेर्नाबेउमा मेरो केही अविस्मरणीय यादहरु जोडिएका छन् । मैले यहाँ गोल र असिस्ट गरेको छु । यसैकारण यहाँ खेल्नु मेरा लागि सँधै विशेष हुने गर्दछ ।’