सहिद स्मारक ‘ए’ डिभिजन लिग

पुलिसको पहिलो जित

काठमाडौं । सुमन लामाको निर्णायक गोलप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा  आइतबार पहिलो जित हात पारेको छ । 

पुलिसले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्यो ।

जितसँगै पुलिसले दुई खेलबाट चार अंक जोडेको छ । पुलिसले पहिलो खेलमा विभागीय ‘डर्बी’ अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ को बराबरी खेलेको थियो ।

जावलाखेलको भने यो लगातार दोस्रो हार हो । जावलाखेल पहिलो खेलमा मनाङ मस्र्याङदी क्लबसँग १–० ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हाफको ३९औं मिनेटमा रुपबहादुर लामाले करिब ३० यार्ड परबाट गरेको फ्रिकिक प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएपछि जावलाखेल अग्रता लिनबाट चुकेको थियो । पुलिसका हेमन्त श्रेष्ठले निकालश फर्नान्डेशमाथी फाउल गरेपछि जावलाखेलले फ्रिकिक पाएको थियो ।

लगत्तै ४०औं मिनेटमा पुलिसका रवि पासवानाले देब्रे कर्नर साइटबाट गरेको क्रसमा तेज तामाङको प्रहारको जावलाखेलका गोलकिपर टिकेन्द्रसिंह थापाले उत्कृष्ट बचाएका थिए ।

६२औं मिनेटमा रवि पासवानले करिब ४० यार्ड परबाट गरेको प्रहार जावलाखेलका गोलकिपर थापाले पन्च गरि बाहिर फ्याकिदिए ।

६५औं मिनेटमा रविको हेडर फस्र्ट बारमा लागेर फर्कियो । मानबहादुर परियारले प्रहार गरेको फ्रिकिकमा रविले फ्लिक हेड गरेका थिए ।

त्यस्तै ६७औं मिनेटमा जावलाखेलका सन्तबहादुर गुरुङको प्रहार पनि सेकेन्ड बारमा लाग्दै फर्कियो ।

७०औं मिनेटमा सुमन लामाले गरेको गोल पुलिसको जितमा निर्णायक बन्यो । रविले मैदानको मध्यभागबाट निकालेको लामो पासमा सुमनले पेनाल्टी क्षेत्रको दाहिने भागबाट गरेको प्रहारले सेकेन्ड बारको जाली चुमेको थियो ।

लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइजले एनआरटीको सामना गर्दा दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लब विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध मैदान उत्रने छ ।