युरोपियन च्याम्पियन्स लिग

पिएसजी मैदानमा बार्सिलोनाको जित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइलनको पहिलो लेगमा घरेलु मैदानमै बार्सिलोनासँग ३–२ ले पराजित भएको छ ।

पार्क डेस प्रिन्सेस मैदानमा ४७ हजार फ्रेन्च समर्थकमाझ क्याटलान क्लबका युवा खेलाडीले सानदार प्रदर्शन गरेका हुन् । यो जितपछि बार्सिलानाको सेमिफाइनलमा सम्भावना बलियो बनेको छ । अब, दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा अर्काे साता हुनेछ ।

भ्रमणकारी टोली बार्सिलोनाको जितमा ब्राजेलियन स्टार राफिन्हाले दुई तथा आन्द्रेस क्रिस्टेन्सनले एक गोल गरेका हुन् । पिएसजीको लागि बार्सिलोनाकै पूर्व खेलाडी औसमाने डेम्बेले र भिटिन्हाले समान एक गोल गरेका थिए ।

बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुमै पिएसजीले २–१ को अग्रता बनाएको हो । तर, जाभी हर्नान्डेजको बार्सिलोनाले प्रभावशाली प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा ल्याएको थियो ।

पिएजसी पछिल्लो पाँच महिनामा २७ खेल खेल्दा पहिलो पटक पराजित भएको हो । बार्सिलोनाका युवा रक्षक पोल कुबार्सीले सानदार प्रदर्शन गर्दै केलियन एम्बाप्पेलाई रोक्न सफल भएका थिए ।