इङ्लिस प्रिमियर लिग

बराबरीमा रोकिए युनाइटेड र लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु टोली म्यानचेस्टर युनाइटेड र लिभरपुल २-२ को बराबरीमा रोकिएका छन् ।

ओल्ड ट्राफोर्डमा युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेस र कोबी माइनुले गोल गरे । लिभरपुलका लागि लुइस डियाज र मोहम्मद सलाहले गोल गरे ।

बराबरीसँगै शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको लिभरपुल ३१ खेलबाट ७१ अंकका साथ दोस्रो स्थानमा छ । युनाइटेड समान खेलबाट ४९ अंकका साथ छैटौं स्थानमा छ ।

खेलको २३औं मिनेटमा डियाजको गोलमार्फत लिभरपुलले अग्रता लियो । उनले डार्विन नुनेजको पासलाई पोस्टको दिशा दिए ।

 फर्नान्डेसले ५३औं मिनेटमा युनाइटेलाई बराबरीमा ल्याए । उनले लिभरपुलका रक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरे । जारेल क्वान्सले भर्गिल भान डाइकलाई पास दिन खोज्दा उपलब्ध बललाई फर्नान्डेसले सहज जाली चुमाए ।

आरोन वान बिसाकाको पासमा माइनुले गोल गर्दा  ६७ औं मिनेटमा युनाइटेड २-१ ले अगाडि बढ्यो ।  निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा सलाहले पेनाल्टीमार्फत गोल गर्दा खेल २-२ को बराबरीमा सकियो ।