नेपाली फुटबल

महिला फुटबल टोलीलाई १० लाख रुपैयाँ सहयोग प्राप्त

काठमाडौं । भर्खरै सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

डेढ दशकदेखि साउदी अरेबियामा बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ (यम तमु) ले टोलीको प्रोत्साहन स्वरुप उक्त रकम उपलब्ध गराएका हुन् ।

साउदीमा फागुन १६ गते भएको फाइनल हेर्न पुगेका  गुरुङले खेलाडीको उच्च प्रदर्शनबाट आफू प्रभावित भएकाले सहयोग गरेको बताएका छन् ।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवंम राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोम्बा लामालाई रकम पठाइसकेका छन् ।

यमबहादुर गुरुङ

‘तमुजीकी श्रीमती उमाको उपस्थितिमा केही दिनमा हामी खेलाडीलाई रकम हस्तान्तरण गर्नेछौं,’ महिला संघकी अध्यक्ष लामाले भनिन् ।

जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएको थियो ।  त्यसअघि नेपालले सेमिफाइनलमा लेबनानलाई २-१ ले तथा समूह चरणमा इराकलाई ५-०, सिरियालाई ४-१ र प्यालेस्टाइनलाई ४-० ले हराएको थियो ।

१५ वर्षदेखि साउदी बस्दै आएका गुरुङले पाँच वर्षदेखि रियादमा लालिगुरास नेपाली रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । 

‘प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन उच्च थियो । त्यसैले प्रोत्साहन स्वरुप केही सहयोग गरेको हुँ । हामी सबैले हौसला बढाउनु पर्दछ भन्ने लाग्छ,’ गुरुङले भने, ‘म अन्य समाजिक काममा पनि संलग्न छु । महिला टोलीका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छु । ’