नेपाली फुटबल

विश्वकप छनोटअघि नेपाल र मलेसिया भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत बहराइनसँग हुने खेलको तयारी लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बलियो मलेसियासँग आज (शुक्रबार) मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल मलेसियाको साह अलाममा राति पौने ८ बजे हुनेछ । दुबै टोली छनोट खेलअघि तयारी राम्रो रहेको प्रष्ट पार्न चाहन्छन् ।

प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले लामो समय घरेलु लिग नभएपछि मोसफल र नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई टोलीमा समावेश गरेका हुन् ।  

आयुष घलान, दीप कार्की, सन्तोष खत्री, सुरज जिउ ठकुरी प्रशिक्षकसँग बढेको चिसोपनका कारण टोलीमा छैनन् । अर्का मिडफिल्डर एरिक विष्ट भने भारतीय आईलिगमा ब्यस्त छन् । उनलाई पनि एनेसले टोलीमा बोलाएनन् । शोकमा रहेका अनुभवी रक्षक रोहित चन्द पनि टोलीसाथ हुने छैनन् ।

प्रशिक्षक एनेसले ६ नयाँ अनुहार लिएर मलेसिया पुगेका छन् । नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका रोहन कार्की, अभिषेक लिम्बू, अजय चौधरी, सौभाग्य (संजित) राई र समिर तामाङले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् ।

टोलीमा अनुभवी स्ट्राइकर भरत खबासले कमब्याक गरेका छन् । भरत, र संजित यसअघि बोलाएको प्रारम्भिक टोलीमा थिएनन् ।

नेपालले चैत ८ र १३ गते बहराइनमा दुई खेल खेल्नेछ । नेपालले ८ गते दशरथर रंगशालामै खेल्ने भएपनि मैदान जीर्ण हुँदा खेल बहराइन सरेको हो ।

एन्फाले मैदान तयारी संरक्षण र मर्मत गर्नको लागि स्विकृति नमाग्नु र राखेपले पनि अन्य प्रयोजनको लागि रंगशालामा विभिन्न कार्यक्रम गर्न दिँदा जीर्ण बनेको हो । एएफसीका प्रतिनिधिले मैदानमा खेल हुन नसक्ने जानकारी गराएपछि खेल दशरथ रंगशालाबाट बहराइन पुगेको हो ।

मलेसिया र नेपाल दुबैले यो खेलपछि फिफा विश्वकप २०२६ को छनोट खेल खेल्दैछन् । मलेसिया समूह ‘डी’ मा छ । दुबै खेल जितेर टोली समूहको शीर्ष स्थानमा छ । यो समूहमा मलेसिया, ओमान, कीर्गिस्तान र चाइनिज ताईपे छन् ।

नेपाल समूह ‘एच’ मा छ र खेलेको दुबै खेलमा पराजित भएको छ । दुबै खेल जितेको युएई शीर्ष स्थानमा  छ । बहराइन र यमनले समान एक खेल जितेका छन् ।

नेपाली टोलीः
गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार
रक्षकः अजय चौधरी, अनन्त तामाङ, अभिषेक लिम्बु, छिरिङ लामा, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, सौभग्य राई (सन्जित)
मिडफिल्डरः भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डांगी, रोहन कार्की, उत्सव राई, दिनेश हेम्जन, समीर तामाङ
स्ट्राइकरः अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुव थपलिया, सञ्जिव विष्ट