झापा गोल्डकप

आयोजकलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

बिर्तामोड । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको छैटौँ संस्करणमा फाइनल प्रवेश गरेको छ ।

शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेल मैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल दुवै टोलीबाट नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज पहिलो सहभागितामै फाइनल प्रवेश गर्न सफल भएको हो । झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहेको थियो ।

पेनाल्टी सुटआउटमा चर्च ब्वाइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले गोल गरे । चर्च ब्वाइजका सर्ज डिकाको प्रहार झापाका गोलकिपर सुदिप लिम्बूले बचाए ।  

झापाको लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष चापागाईंले गोल गरे भने प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्कियो । विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार गोलकिपर दीपले बचाए ।

त्यसअघि अतिरिक्त समयमा विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्किएको थियो । अतिरिक्त समयमै मार्क जुनियर ह्यारीसनले बक्सबाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर दीप कार्कीले बाहिर फ्याल्दै चर्च ब्वाइजको संकट टारे ।

यसअघि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

खेलको ५१औँ मिनेटमा चर्चका अबायोमी अलुवासेउन फकुन्लेले हानेको शक्तिशाली प्रहार गोलकिपर सुदिप लिम्बूले बचाए । ५३औँ मिनेटमा सुरज जिउ ठकुरीेले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार गोलकिपर सुदिपले पन्च गरेर बाहिर फ्यालेको हुन् ।

६३औँ मिनेटमा सुरजको पासमा विजय भुजेलले बक्सभित्र बल पाए पनि सदुपयोग गर्न सकेनन् । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा चर्च ब्वाइजका फाकुन्लेको प्रहार गोलकिपर सुदिपले उत्कृष्ट बचाउ गरे । निरज चौधरीले दिएको बल फाकुन्लेले बक्सभित्रबाट प्रहार गरे पनि सफल भएनन् ।  

खेलको २६औँ मिनेटमा आशिष चापागाईंले हानेको प्रहार गोलकिपर दीप कार्कीले बचाए ।

६२औँ मिनेटमा कप्तान पेमा तामाङले बनाएको सुन्दर अवसरमा झापा गोल गर्न चुक्यो । सोही अवसरमा आशिषले मिलाएको सुन्दर पासमा विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनले गोल गर्न सकेनन् । 

सोमबार हुने उपाधि भिडन्तमा चर्च ब्वाइजले विभागीय टोली एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार भएको पहिलो सेमिफाइलनमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले पराजित गरेको थियो ।

फागुन १९ बाट सुरु भएको प्रतियोगिताको विजेताले १३ लाख तथा उपविजेताले ७ लाखरुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी विधागततर्फका खेलाडीले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसअघि भएको पाँचमध्ये चार संस्करण आर्मी र एक संस्करण मनाङ मर्स्याङ्दी क्लबले जितेका छन् । मनाङले पहिलो संस्करण जित्दा त्यसयता आर्मी च्याम्पियन हुँदै आएको थियो ।