इङ्लिस प्रिमियर लिग

युनाइटेडविरुद्धको खेल इतिहासकै उत्कृष्ट : सिटीका प्रशिक्षक ग्वार्डिओला

म्यानचेस्टर । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले शनिबार इङ्लिस प्रिमियर लिगअन्तर्गत भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडविरुद्धजस्तो आफ्नो टोलीले संगठित रुपमा कहिल्यै खेल नियन्त्रणमा नराखेको बताएका छन् ।

ओल्ड ट्राफोर्डमा २-० को जित हासिल गरेको खेल पूर्ण रुपमा सिटीले आफ्नो नियन्त्रणमा राखेको थियो । ओल्ड ट्राफोर्डमा ग्वार्डिओलाको सिटीले अन्य सबै टिमभन्दा बढि आठ पटक अवे जित हासिल गरेको छ ।

युनाइटेडविरुद्धको अलराउन्ड प्रदर्शनबाट ग्वार्डिओला पूर्ण रुपमा सन्तुष्ट थिए । युनाइटेडविरुद्धको खेलमा सिटीले ६७.४ प्रतिसत बल पोसेसन राख्नुका साथै पोस्टलक्षित पाँच प्रहार गरेको थियो । जवकि युनाइटेडले पोस्टलक्षित एकमात्र प्रहार गर्न सकेको थियो ।

‘मेरो विचारमा यो हामीले एउटा टिमका रुपमा पूर्ण नियन्त्रण राखेको सबभन्दा उत्कृष्ट खेल थियो । हामी विपक्षीमाथि यति धेरै हावी यसअघि कहिल्यै हुन सकेका थिएनौं,’ ग्वार्डिओलाले भने, ‘दोस्रो हाफको १० मिनेट वाहेक बाँकी ८० मिनेट खेल पूरा आफ्नो नियन्त्रणमा राखेका थियौं । यही लयलाई सिजनभर निरन्तरता दिनु हाम्रो अबको सबभन्दा ठूलो लक्ष्य र चुनौती हो ।’