साफ महिला यु-१९ च्याम्पियनसिप

बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले शुक्रबार घरेलु टोली बंगलादेशको सामना गर्दैछ । 

खेल ढाकास्थित मुस्ताफा कमल रंगशालामा स्थानिय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ ।

बंगलादेश प्रतियोगिताको सर्वाधिक सफल टोली हो । हालसम्म प्रतियोगिताको चार संस्करण सकिँदा बंगलादेश सन् २०१८, २०२१ र २०२३ मा च्याम्पियन बनेको थियो । 

नेपालले हालससम्म उपाधि जित्न सकेको छैन । सन् २०१८ र २०२३ मा फाइनल खेलेको नेपाल दुवै पटक बंगलादेशसँग पराजित भएको थियो । 

प्रतियोगितामा नेपालले हालसम्म बंगलादेशलाई हराउन सकेको छैन । हालसम्म यी दुईबीच सात खेल हँदा बंगालदेशले ६ खेल आफ्नो पक्षमा पारेको छ । एक खेल बराबरीमा सकिएको छ ।

सन् २०१८ को समूह चरणमा नेपाल बंगलादेशसँग २-१ पराजित भएको थियो । सोही संस्करणको फाइनलमा पनि नेपाल १-० ले  स्तब्ध बन्न पुग्यो ।

फाइल तस्विर

सन् २०२१ मा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । २०२२ मा नेपाल र बंगलादेश दुई पटक आसने सामने भएका थिए । जसमा नेपाल४२ र २ १ ले पराजित भएको थियो ।

यसैगरी सन् २०२३ को समूह चरणमा ३-१ ले पराजित भएको नेपाल फाइनलमा ३-० ले स्तब्ध बनेको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र भुटान आमने सामने हुनेछन् । यसपटक बंगलादेश, नेपाल, भारत र भुटानले सहभागिता जनाउँदा पाकिस्तान, श्रीलंका र माल्दिभ्स अनुपस्थित छन् ।

सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि ढाका प्रस्थान गर्नुअघि नेपालीकी कप्तान सारा बज्राचार्यले उपाधि जितेर फिर्किने बताएकी थिइन् । 

‘तयारी समय अलि कम भएपनि टोलीको मनोबल उच्च छ । खेलाडीहरुले धेरै कुरा सिकिसकेका छन् । उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीहरु पनि भएकाले अनुभवको कमि छैन, ’ साराले भनेकी थिइन्,‘पहिले देखि सँगै खेलेको भएर धेरै सजिलो भएको छ । तर, नयाँ खेलाडीहरु भएकाले चुनैती पनि उत्तिकै छ । हाम्रो लक्ष्य उपाधि जित्नु नै हो । बंगलादेश र भारत बलिया टोलीहरु हुन् तर, उपाधि जित्ने लक्ष्य छ ।’

फाइल तस्विरः नेपालकी कप्तान सारा बज्राचार्य

त्यस्तै मुख्य प्रशिक्षक बालगोपाल साहुखलले पनि खेलाडीहरुको प्रशिक्षण राम्रो भएकाले सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गरेका थिए ।

‘अवश्य पनि समय कम नै पाएका हौं । तर, त्यो समयलाई कसरी सदुपयोग गर्छौँ भन्ने कुराले फरक पार्छ । हामीले पाएको समयलाई भरपूर सदुपयोग गरेका छौं । त्यसैले हामीले उपाधिको लक्ष्य राखेका छौं,’ साहुखलले भनेका थिए, ‘शारीरिक पक्षमा बलिया खेलाडीहरु टोलीमा छन् । खुल्ला छनोट गर्दा हामीले यी कुरालाई ध्यान दिएका थियौं । उमेर समूहमा खेलिसकेका खेलाडी र केही नयाँ अनुहारको मिश्रण छ । सुरुआती केही समय नयाँ खेलाडीलाई पोसेसन फुटबलका बारेमा बुझाउन गाह्रो भयो । पछि सजिलो भयो ।’