इटालियन सिरी ‘ए’

एसी मिलानको सहज जित

काठमाडौं । एसी मिलानले इटालियन सिरी ‘ए’ मा आइतबार मोन्जाविरुद्ध ३-० को सहज जित निकालेको छ ।

घरेलु मैदान सान सिएरोमा मिलानलाई जित दिलाउन तिज्जानी रेइन्डर्स, जान कार्लो सिमिक र नोआ ओकाफोरले गोल गरे ।

जितसँगै १६ खेलमा ३२ अंक जोडेको मिलान तेस्रो स्थानमा कायम छ । पराजय ब्यहोरेको मोन्जा समान खेलबाट २१ अंकका साथ ११ औं स्थानमा छ ।

खेलको तेस्रो मिनेटमै रेइन्डर्सको गोलमार्फत मिलानले अग्रता लिएको थियो । उनले क्रिस्टियन पुलिसिकको पासलाई सदुपयोग गरेका थिए ।

४१ औं मिनेटमा राफेल लियोको पासलाई जाली चुमाउँदै सिमिकले टोलीको अग्रता दोब्बर बनाए ।  ७६ औं मिनेटमा ओकाफोरले गोल गर्दै मिलानलाई ३-० को सहज जित दिलाए । उनले ओलिभर जिरुडको पासलाई पोस्टको दिशा दिएका थिए ।