इङ्लिस प्रिमियर लिग

चेल्सीको रोमाञ्चक जित

काठमाडौं । १० खेलाडीमा समेटिएको चेल्सीले इङ्लिस प्रिमियर लिगमा आइतबार ब्राइटनमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै १४ खेलमा १९ अंक जोडेको चेल्सी १० औं स्थानमा छ । पराजित ब्राइटन समान खेलबाट २२ अंकका साथ आठौं स्थानमा छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन इन्जो फर्नान्डेजले दुई र लेभी कोल्विलले एक गोल गरे । ब्राइटनका लागि फाकुन्डो बुओनानोट र जाओ पोड्रोले गोल फर्काए ।

खेलको १७ औं मिनेटमा फर्नान्डेजको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । चार मिनेटपछि नै कोल्विलले टोलीको अग्रता दोब्बर बनाए ।

४३ औं मिनेटमा बुओनानोटले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । दुई मिनेटपछि कोनर गालाघरले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि चेल्सी १० खेलाडीमा समेटियो ।

६५ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-१ ले अगाडि बढाए ।  इन्जुरी समयमा पोड्रोले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरे पति त्यो पर्याप्त बन्न सकेन ।

लिग अन्तर्गतकै अन्य खेलमा लिभरपुलले फुलहममाथि ४-३ को रोमाञ्चक जित निकाल्दा वेस्ट हम युनाइटेड क्रिस्टल प्यालेससँग १-१ तथा एस्टन भिल्ला बर्नमाउथसँग २-२ को बारबरीमा रोकिए ।