अल्दुल्लाह अल्मुताइरी

प्रशिक्षक अल्मुताइरी थप तीन वर्ष नेपालमै बस्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्ष नेपालमा वस्ने भएका छन् ।

बुधबार सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग थप तीन वर्षको सम्झौता गरेकाे उल्लेख गरेका छन् ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल प्रवेश गरेलगत्तै अल्मुताइरीले फाइनल खेल नै नेपालकोतर्फ बाट अन्तिम खेल भएको घोषणा गरेका थिए ।

यद्धपी भारतसँग फाइनलमा पराजित भएपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै अल्मुताइरीले दुई साताको आरामपछि मात्र नेपाल फर्कने वा नफर्कने बारे अन्तिम निर्णय लिने बताएका थिए । 

एन्फा र अल्मुताइरीबीच सन् २०२२ सेप्टेम्बर सम्म सम्झौता कायम नै छ ।

‘एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघ (क्युएफए) का अधिकारीहरुसँगको भेटघाटपछि मैले नेपाली राष्ट्रिय फुटबल टोलीसँग थप तीन वर्षको सम्झौता गर्ने निर्णय गरेको छु,'अल्मुताइरीले उल्लेख गरेका छन्, ‘मलाई नेपाल फर्कन सहयोग गर्ने क्युएफएलाई धन्यवाद । नयाँ योजनाका लागि शुभकामना ।हामी छिट्टै आगामी दुई वर्षको रणनिती र लक्ष्य सार्वजनिक गर्नेछौ ।’

‘नेपाली फुटबल राम्रो हुन्छ तर त्यसका लागि हामीलाई समय दिनुस्,’ अल्मुताइरीले उल्लेख गरेका छन्,'मप्रति देखाएको माया र सम्मनका लागि सधै आभारी छु । म सधै नेपाली समर्थकको मनमा बस्न चाहन्छु । मलाई मात्र होइन खेलाडीलाई पनि माया र समर्थन गरिदिनुस् ।हामीलाई माया गर्नुस, विश्वास गर्नुस । सबैलाई धन्यबाद । वान फेमली, जय नेपाल ।'