उपमेयर कप राष्ट्रिय महिला फुटबल

महिला फुटबलमा आज तीन खेल

काठमाडौ । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा नवलपुरको गैंडाकोट नगरपालिका र हेटौंडा उपमहानगरपालिका आज बुधबार पहिलो जितको खोजीमा मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान नौं बजे सुरु भएको समूह 'एफ' अन्तर्गतको पहिलो खेलमा गैंडाकोट र हेटौंडाबीच खेल भइरहेको छ ।

प्रतियोगिताको सातौं दिनको दोस्रो खेलमा दिउँसो १२ बजे समूह 'जी' का पोखरा महानगपालिका र कैलालीको गोदावरी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो खेलमा समूह 'एच' को धनकुटा नगरपालिका र धनगढी उपमहानगरपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागी ३१ टोलीलाई दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता नकआउट चरण प्रवेश गर्नेछ ।

समूह ‘ए’बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।