मैत्रीपूर्ण खेल

आर्मीविरुद्ध राष्ट्रिय टोलीको जित

काठमाडौं । लाओसविरुद्ध हुने विश्वकप तथा एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेलेको छ ।

अखिल नेपाल  फुटबल संघ ( एन्फा)ले  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल ३-१ को स्थितीमा सकिएकको बताए पनि आर्मीका खेलाडीहरुको भने ३-२ को नतिजा निस्किएको दाबी छ । यी २ टोलीबीच हालसम्म ४ खेल हुँदा राष्ट्रिय टोलीले ३ र आर्मीले १ खेल आफ्नो पक्षमा पारेका छन् । 

राष्ट्रिय टोलीका लागि लागि अञ्जन विष्टले २ र आवास लामिछानेले १ गोल गरे । आर्मीका लागि दुवै गोल कमल खड्काले फर्काए । 

 

नेपालले यही अक्टोबर १२ मा दिन घरेलु मैदानमा लाओसविरुद्ध छनोटको पहिलो खेल खेल्दैछ । त्यसपछि दोस्रो लेग खेल्न नेपाली टोली लाओस प्रस्थान गर्नेछ ।

नेपाली टोली अगस्ट १ यता बन्द प्रशिक्षणमा छ । यसबीच टोलीले तयारी स्वरुप म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । एक खेल गोलरहित बराबरीमा टुंगिदाँ अर्को खेल म्यानमारको पक्षमा गएको थियो ।

छनोटको पहिलो चरणमा २२ टोलीको सहभागिता जनाउने छन् । फिफा वरीयताअनुसार यी देशहरु २६ देखि ४७ औं वरीयताका टोली हुन् । जसमा नेपाल पनि पर्छ ।

जसबाट ११ टोली संयुक्त छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन् । त्यस्तै एक उत्कृष्ट उपविजेताले एएफसी एसियन कप छनोटको अन्तिम चरणमा स्थान बनाउने छ ।