अल-नासर

अल-नासरलाई नयाँ खेलाडी अनुबन्धमा प्रतिबन्ध

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध साउदी अरेबियन क्लब अल(नासरले अब कुनै पनि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने भएको छ ।

अल-नासरले इङ्लिस क्लब लेस्टर सिटीलाई अहमद मुसा अनुबन्धको सम्झौता अनुसार ‘एड-अन्स’ (थप रकमं) तिर्न नसकेपछि फिफाले नयाँ खेलाडी अनुबन्धका लागि प्रतिबन्ध लगाएको डेली मिररले जनाएको छ ।

फिफाले साउदी टोलीले मुसा सम्बन्धी बोनसमा ४ लाख ६० हजार यूरो र त्यसमा लाग्ने थप रकम तिर्न असफल भएको बताएको छ । मुसाले सन् २०१८ देखि २० सम्म अल नासरबाट खेलेका थिए ।

यसअघि नै सन् २०२१ मा अल-नासरलाई भुक्तानी नगरेमा खेलाडी दर्ता गर्न नपाउने चेतावनी दिइएको थियो । तर उक्त चेतावनीको वेवास्ता गरेर भुक्तानी नगरेपछि अल-नासरलाई खेलाडी थप्न वञ्चित गरिएको हो ।

फिफाका अनुसार प्रतिबन्ध ३ सिजनको ‘ट्रान्सफर विन्डो’ का लागि रहनेछ ।

प्रतिबन्धको अन्त्यसम्ममा पनि लेस्टरलाई भुक्तानी नगरेको खण्डमा अल-नासरविरुद्ध फिफा अनुशासन समितिमा मुद्दा चलाइने पनि बताइएको छ ।

साउदीको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पिआइएफ) ले प्रतिबन्ध हटाउनका लागि शुल्क तिर्न तयार रहेको स्पष्ट पारेको छ ।