एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

आर्मीको लगातार चौथो जित

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार चौथो जित निकालेको छ ।

 त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार सम्पन्न खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट १८-२५ ले  गुमाएको आर्मीले दोस्रो सेट २५ -१६ ले आफ्नो पक्षमा पारेको थियो । आर्मीले तेस्रो २४ -२६ ले गुमाउँदा चौथो सेट २८-२६ ले आफ्नो पक्षमा  पार्दै खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो ।

 पाँचौं तथा निर्णायक सेट १७-१५ ले जित्दै आर्मीले आफ्नो विजयी यात्रा कायम राखेको हो ।

जितसँगै आर्मी ४ खेलमा ११ अंकका साथ शीर्ष स्थानमा छ  । पहिलो पारजय ब्यहोरेको एपिएफ समान खेलमा १० अंक जोडेर तेस्रो स्थानमा छ ।

अब बिहीबार आर्मीले नेपाल पुलिस क्लब र एपिएफले हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछन् ।

बुधबार नै सम्पन्न अन्य खेलमा हेल्प नेपालले पुलिस र शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबले दावाली मिलन क्लबलाई समान ३-२ कै सेटमा पराजित गरेका थिए ।