अल इत्तिफाक

जाहा भित्र्याउने अल-इत्तिफाकको इच्छा

काठमाडौं । साउदी अरेवियन क्लब अल-इत्तिफाकले आइभोरी कोस्टका फरवार्ड विल्फ्रेड जाहा अनुबन्धको इच्छा देखाएको  छ ।

इत्तिफाक इङ्लिस क्लब क्रिस्टल प्यालेसबाट जाहा भित्र्याउन चाहन्छ ।

द मेलका अनुसार इत्तिफाकले जाहाका लागि प्रति वर्ष १६ मिलियन पाउन्डको प्रस्ताव अगाडी बढाएको छ ।

यसैगरी जाहा अनुबन्धका लागि इटालियन क्लब लाजियो, साउदी अरेबियन क्लब अल नासर र स्पेनिस क्लब एट्लेटिको मड्रिडले पनि इच्छा देखाइरहेका छन् ।

जाहाले भने अहिलेसम्म आफ्नो भविष्यको बारेमा निर्णय भने गरिसकेका छैनन् र उनले सबै विकल्पहरूबारे विचार गर्ने बताएका छन् ।

क्रिस्टलले सन् २०१५ मा जाहालाई प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेडबाट स्थायी खेलाडीका रूपमा फर्काएको थियो । क्रिस्टल फर्किएयता जाहाले २ सय ७५ लिग खेलमा ६७ गोल गरे ।

त्यसअघि सन् २०१० देखि २०१३ सम्म क्रिस्टलमा बिताएका जाहाले एक सय १० लिग खेलमा १२ गोल गरेका थिए ।

युनाइटेडका लागि मात्र दुई खेल्ने अवसर पाएका जाहाले सन् २०१३ मा क्रिस्टल, २०१४ मा कार्डिफ सिटी र २०१४ १५ मा पुनः क्रिस्टलबाट लोनमा खेलेका थिए ।