एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

न्यू डायमन्ड र एपिएफको लगातार दोस्रो जित

काठमाडौं । न्यू डायमन्ड युथ स्पोर्टस क्लब र विभागीय टोली नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ लगातार दोस्रो जित निकालेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा साेमबार सम्पन्न दोस्रो खेलमा न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

न्यू डायमन्डले खेल २५-१७, २५-१२ र २५-१२ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै न्यू डायमन्डले २ खेलमा ६ अंक जोड्दा दुवै खेलमा पराजित एभेस्ट अंकविहिन छ । पहिलो खेलमा न्यू डायमन्डले गण्डकी प्रदेशलाई ३-०को सोझो सेटमा हराउँदा एभरेस्ट नेपाल पुलिस क्लबसँग ३-० को सेटमा पराजित भएको थियो ।

अब मंगलबार न्यू डायमन्डले आर्मी र एभरेस्टले एपिएफकाे सामना गर्नेछन्

साेमबार नै सम्पन्न पहिलो खेलमा एपिएफले गण्डकीमाथि ३-० को सोझो सेटको जित निकाल्यो ।

एपिएफले खेल २५-१२, २५-१८ र २५-८ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै एपिएफले २ खेलमा ५ अंक जोड्दा तीनै खेलमा पराजित गण्डकी अंकविहिन छ । यसअघि एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा हराउँदा गण्डकी पुलिस र न्यू डायमन्डसँग समान ३-० को सेटमा पराजित भएको थियो ।

अब एपिएफले मंगलबार र गण्डकीले बुधबार एभरेस्टसँग खेल्नेछन् । 

साेमबार नै हुने महिलातर्फको अन्तिम खेलमा पुलिसले आर्मीको समान गर्नेछ ।

यसैगरी पुरुषतर्फ हेल्प नेपालले दावाँली मिलन, आर्मीले गण्डकी र पुलिसले शैलुङ बागढुङ्गासँग प्रतिस्पर्धा गर्नेछन् ।