जोजे माउरिन्हो

माउरिन्होलाई चार खेलको प्रतिबन्ध

काठमाडौ । इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोजे माउरिन्होलाई चार खेलको प्रतिबन्ध लागेको छ ।

युइएफएले इङ्लिस रेफ्री एन्थोनी टेलरमाथि अभद्र व्यावहार गरेको आरोपमा मौरिन्होलाई चार खेलको प्रतिबन्ध लगाएको हो ।   

युरोपा लिगको फाइनलमा सेभियासँग पेनाल्टी सुटआउटमा ४-१ ले पराजित भएसँगै माउरिन्हो खेल रेफ्री टेलरप्रति रुष्ट बनेका थिए ।

खेलपछि माउरिन्होले टेलरले गलत निर्णय दिएको भन्दै उनको निर्णयको विरोध गरेका थिए । त्यस्तै स्टेटियमको कार पार्किङमा समेत माउरिन्होले टेलर र अन्य खेल पदाधिकारीप्रति अभद्र व्यवहार गरेका थिए ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि विजेताको टुङगो पेनाल्टी सुटआउटमा लगाइएको थियो । सो खेल दौरान टेलरले माउरिन्होलाई कार्डको दर्शन गराएका थिए ।

यस्तै युइएफएले रोमालाई ५५ हजार युरो जरिवाना पनि लगाएको छ । यसैगरी रोमाले आगामी सिजन एक युरोपियन खेलमा आफ्ना समर्थकलाई टिकट बेच्न पनि पाउने छैन् ।