अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं । नेपालले घरेलु टोली फिलिपिन्सविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० को पराजय ब्यहोरेको छ ।

रिजल मेमोरियल रंगशालामा बिहीबार सम्पन्न खेलकाे ५०औं मिनेटमा जार्भे गायोसोले गरेको एक मात्र गोल फिलिपिन्सलाई जित दिलाउन पर्याप्त बन्यो ।

नेपालले पहिलो र दोस्रो हाफमा समान एक गोलको अवसर पाएको भए पनि त्यसलाई सदुपयोग गर्न भने सकेन । पहिलो हाफमा एरिक विष्ट तथा दोस्रो हाफमा अनन्त तामाङले अवसर गुमाएका थिए ।

यही खेलमार्फत लाकेन लिम्बु र विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि अन्तर्राष्ट्रिय ‘डेब्यू’ गरे । दुवैले पहिलो रोजाइमै रहेरे ‘डेब्यू’ गरेका हुन्  ।
 लाकेनले थ्री स्टार तथा विमलले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट गत साता सम्पन्न सहिद स्मारक‘ए’ डिभिजन लिग खेलेका थिए । 
 नेपालले  दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको तयारी स्वरुप फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो ।

साफ च्याम्पियनसिपको १४औं संस्करण असार ६ देखि १८ गतेसम्म  भारतको बेङ्गलुरुमा हुनेछ ।

 नेपाल र फिलिपिन्सले सातौं पटक एक-अर्काको सामना गरेका हुन् । यसअघिका ६ खेलमा नेपालले एक र फिलिपिन्सले चार खेल आफ्नो पक्षमा पर्दा एक खेल बराबरीमा सकिएको थियो ।

नेपाल र फिलिपिन्सले सन् १९८२ मा पहिलो पटक एक-अर्काको सामना गरेका थिए । किङ्ग कप अन्तर्गत भएको उक्त भेटमा नेपाल १–० ले विजयी भएको थियो ।

यसैगरी नेपालले सन् २०११ मा ४-० तथा २०१४ मा भएका दुई भेटमा समान ३-० को पराज ब्यहोरेको थियो । यी तीनै खेल अन्तर्राष्ट्रिय मैत्रिपूर्ण थिए ।

एसिया कप छनोट अन्तर्गत सन् २०१७ मा भएको पहिलो भेटमा नेपाल ४-१ ले पराजित हुँदा दोस्रो भेट गोलरहित बराबरीमा सकिएको थियो । त्यसयता यी दुई पहिलोपटक आमने-सामने भएका हुन् ।