वडा अध्यक्ष कप भेट्रान फुटबल

कपन भेट्रानको विजयी सुरुआत

भेट्रान फुटबलमा ‘म्यान अफ द म्याच’ पासाङ शेर्पालाई ट्रफी प्रदान गरिदै

काठमाडौं ।  कपन भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा मंगलबार कपनले चावहिल भेट्रानलाई २-१ ले पराजित गरेको हो। 

कपनका लागि दुवै गोल पासाङ शेर्पाले गरे । चावहिलका रन्जित लामाले एक गोल फर्काए ।

चावहिल स्पोटस क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा नुवाकोट दरबार, एसएनकेसी र बुढानीलकण्ठले पनि विजयी सुरुआत गरेका छन् ।

चन्द्रविनायक पार्क, चावहिल मैदानमा नुवाकोटले सिन्धु स्पोर्टसलाई १-० ले हरायो । नुवाकोटका रुहनमान सिंहले निर्णायक गोल गरे ।

एसएनकेसीले कोटेशश्वरमाथि १०-० को फराकिलो अन्तरको जित निकाल्यो । विजेता टोलीका लागि  सागर थापा र विभोर गुरुङले ह्याट्रिक गरे । सरोज थापाले दुई  तथा राकेश श्रेष्ठ र प्रदीप लामाले समान एक गोल थपे ।

सोम तामाङको निर्णायक गोल मद्दतमा बुढानीलकण्ठले जंगवीर युनाइटेडलाई १-० ले हरायो । 

प्रतियोगिताको आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।