सहिद स्मारक ए डिभिजन लिग

जितको दबाबमा फ्रेन्ड्स

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा यस सिजन उपाधि विजेताको टुङगो लागिसके पनि रेलिगशेनमा पर्ने दुई टोलीको भिडन्त भने रोचक बनेको छ । 

चर्च ब्वाइज मंगलबार एक खेल अगावै लिग विजेता बनेको थियो । नवौं स्थानको एपिएफ र १४औं स्थानको फ्रेन्ड्स क्लबबीचको दुरी ४ अंकको मात्र छ । त्यसले पनि रेलिगेशन ब्याटल थप रोमाञ्चक बनाएको हो ।

१४औं स्थानको फ्रेन्ड्सले आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा संकटा क्लबको सामना गर्नेछ । संकटाविरुद्धको हारले फ्रेन्ड्स यस सिजन ए डिभिजन लिगको हैसियत गुमाउने पहिलो टोली बन्ने छ । यता बराबरीले भने फ्रेन्ड्सको सम्भावना कायम रहनेछ । 

१०औं स्थानको संकटाको २४ खेलमा ३० अंक रहेको छ भने १२औं स्थानको थ्री स्टार क्लबको २९ अंक रहेको छ । १३औं स्थानको एफसी खुमलटारको समान खेलमा २७ अंक रहेको छ । त्यसैले फ्रेन्ड्सलाई नतिजा सुम्पिएमा संकटाको रेलिगशेन सम्भावना कायम रहनेछ । 

आज च्यासल फुटबल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । छैटौं स्थानको मनाङको ३२ तथा ११औ स्थानको एनआरटीको ३० अंक रहेको छ । 

यता दोस्रो स्थानको मच्छिन्द्र क्लबले भने हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । मच्छिन्द्र २४ खेलमा ३९ अंकसहित दोस्रो स्थानमा छ । हिमालयन शेर्पा भने ३१ अंकसहित आठौं स्थानमा छ ।