इङ्लिस प्रिमियर लिग

आर्सनल नयाँ सिजनमा पनि प्रिमियर लिगको उपाधि दाबेदारः विलियान

लन्डन । आर्सनलका पूर्वखेलाडी विलियानले मिकेल अर्टेटाको टोली यस सिजन इङ्लिस प्रिमियर लिगको उपाधि संघारमा पुगेर निराश भए पनि आगामी सिजन थप बलियो हुँदै मैदान फर्कने बताएका छन । 

सिजनको सुरुआतबाटै शीर्ष स्थानमा अग्रता बनाएको आर्सनल १९ वर्ष देखीको प्रिमियर लिगको उपाधि खडेरी तोड्न चाहन्थ्यो ।आर्सनलले २ सय ४८ दिन प्रिमियर लिगको शीर्ष स्थानमा बिताएको थियो । तर अन्तिम चरणका खेलहरुमा आर्सनलको लगातारको खराब प्रदर्शनसँगै साबिकको विजेथता म्यानचेस्टर सिटीले उपाधि रक्षा गरेको थियो । विलियानले एक सिजन इमिरेट्समा बिताएका थिए ।

‘जब म आर्सनलमा थिए, टोली निकै राम्रो थियो । अर्टेटाको प्रशिक्षणमा आर्सनलको भविष्य राम्रो देखिएको थियो' विलियानले भने, ’आगमी केही वर्ष आर्सनल उपाधि दाबेदार रहनेमा कुनै दुबिधा छैन । म्यानचेस्टर सिटीजस्तो बलियो टोलीलाई चुनौती दिनु सहज छैन । तर आर्सनल बलियो टोलीको रुपमा प्रस्तुत हुनेमा म विश्वस्त छु ।'