फ्रेन्च लिग वान

मेसीको सम्भावित तीन नयाँ गन्तब्य

पेरिस । लियोनल मेसीले यस सिजनको अन्त्यसँगै फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) छोड्ने लगभग पक्का भैसकेको छ । तर उनको आगामी गन्तब्य कहाँ हो भन्ने टुङगो लागिसकेको छैन ।

यसै साता मात्र अर्जेन्टिनका कप्तान मेसी ५ सय २२ मिलियन युरोमा साउदी प्रो लिगको क्लब अल हिलाल जाने खबर सार्वजनिक भएको थियो । तर मेसीका बुबा जर्जले भने सो खबर झुटो भएको बताएका थिए ।

सात पटकका बलोडन डी अर विजेता मेसीले अगस्ट २०२१ मा पिएसजीसँग २ वर्षको सम्झौता गरेका थिए । यस सिजनको अन्त्यपछि सो सम्झौता सकिँदैछ । मेसीले यस सिजन पिएसजीबाट २० गोल गर्नुका साथै १९ असिस्ट गरेका छन । 

च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यसहित मेसीलाई भित्राएको पिएसजी सो लक्ष्य पूरा नभएसँगै उनीसँगको सम्झौता थप गर्न इच्छुक छैन । 

गत साता मात्र अनुमतीविना साउदी अरेबियाको भ्रमण गरेको भन्दै पिएसजीले मेसीमाथि दुई खेलको प्रतिबन्ध लगाएको थियो । 

धेरै खेलाडीका लागि अमेरिकी मेजर सकर लिग आकर्षक गन्तब्य बन्ने गरेको छ । मेसीलाई भित्राउन इन्टर मयामी पनि इच्छुक देखिएको छ । 

मेसीको पूर्वक्लब बार्सिलोना उनलाई फर्काउने सकिनेमा आशाबादी छ । उनी बार्सिलोनाका कीर्तिमानी खेलाडी हुन । मेसीले २१ सिजन बार्सिलोनामा रहँदा ६ सय ७२ गोल गरेका छन ।