इङ्लिस प्रिमियर लिग

युनाइटेड रोकिँदा न्युक्यासलको जित

लन्डन । म्यानचेस्टर युनाइटेड टोटनहमसँग बराबरीमा रोकिएको दिन बिहीबार न्युक्यासल युनाइटेडले भने रेलिगेशनबाट जोगिन संघर्षरत एभर्टनमाथि सहज जितसहित इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा दुई अंकको अग्रता लिएको छ ।

तेस्रो स्थानको न्युक्याल युनाइटेडको ३२ खेलमा ३२ अंक छ भने एक खेल कम खेल्दै चौथो स्थानमा बसेको इरिक टेन हागको टोलीको ६० अंक छ । शीर्ष स्थानको आर्सनलको ३३ खेलमा ७५, दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३१ खेलमा ७३ अंक छ भने पाँचै स्थानको टोटनहमको ३३ खेलमा ५४ अंक छ । 

युनाइटेडले टोटनहमसँग २-२ को बराबरीमा रोकिएसँगै तेस्रो स्थान गुमाएको हो । सातौं मिनेटमा जाडोन सान्चो र ४४औं मिनेटमा मार्कुस रासफोर्डले गरेको गोलमा युनाइटेडले २० को अग्रता लिएको थियो । तर टेन हागको टोलीले दोस्रो हाफमा सो अग्रता कायम राख्न सकेन ।

५६औं मिनेटमा पोरो र ७९औं मिनेटमा सन ह्युङ मिनले गरेको गोलमा टोटनहम खेलमा फर्किएको थियो । 

यता तेस्रो स्थानमा बस्ने क्रममा न्युक्यासलले एभर्टनमाथि ४-१ को सहज जित निकालेको हो ।

२८औं मिनेटमा वेल्सनको गोलमा न्युक्यासलले अग्रता लिएको थियो । ७२औं मिनेटमा जोइलिन्टनले न्युक्यासलको अग्रता दोब्बर पारेका थिए । त्यसको तीन मिनेटपछि नै वेल्सनले न्युक्यासलको अग्रता ३-० मा पुर्याएका थिए ।

८०औं मिनेटमा एभर्टनमा म्याकनिलले गोल गरेका थिए । ८१औं मिनेटमा मर्फेले गोल गर्दै न्यक्यासलको अग्रता ४-१ मा पुर्याएका थिए ।

३३ खेलमा २८ अंक मात्र जोडेको एभर्टन  १९औं स्थानमा छ ।