वैशाख २८, २०८२ आइतबार | २२:११:४५
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

क्यानाडालाई पहिलो गोल र पहिलो जितको प्रतिक्षा

काठमाडौं । उत्तरी अमेरिकाबाट यसपालीको विश्वकपलाई छनोट हुने पहिलो देश क्यानाडा हो । टोलीले महादेशीय छनोटको अन्तिम चरणमा मेक्सिको र अमेरिकालाई अंकतालिकामा पछि पार्दै एक खेल अगाडि नै कतारको टिकट काटेको थियो ।

आठ वर्षअघि क्यानाडा फिफा विश्व वरियतामा छिमेकी अमेरिकाभन्दा एक सय सात स्थानले तल रहँदै एक सय २२औं स्थानमा सीमित थियो । २०१४ को विश्वकप छनोटमा टोली होन्डुरससँग ८-१ ले पराजित भएको थियो ।

तर आज स्थिति फरक छ । एक समय गोल नखाओस् भन्ने मनसाय राख्ने र बराबरी नतिजालाई लक्ष्य बनाउने क्यानाडा अहिले विश्वका जुनसुकै टोलीसँग सामना गर्न तयार छ ।

‘टोली निडर छ, हामी कोहीसँग पनि डराउदैनौँ । माथि जान सक्छौं र विश्व फुटबलमा जोसुकैसँग प्रतिस्पर्धा गर्न पनि सक्छौं भन्ने हामीलाई विश्वास छ । हाम्रो टिमको सबभन्दा मुख्य कुरा भनेको एकअर्काप्रतिको विश्वास हो,’ क्यानाडाका कप्तान एटिबा हचिन्सनले केही समय अगाडि मात्र भनेका थिए ।

कतार विश्वकप क्यानाडाका लागि पहिलो विश्वकप भने होइन । ३६ वर्ष अगाडि १९८६ मा मेक्सिकोमा विश्वकप हुँदा क्यानाडाले पहिलो पटक सहभागिता जनाएको थियो । त्यतिबेला टोलीले महादेशीय छनोटको अन्तिम चरणमा होन्डुरस र कोस्टारिकालाई पछि पारेको थियो ।

तथापि, मेक्सिकोमा सहभागी २४ टोली मध्ये सबैभन्दा खराब प्रदर्शन क्यानाडाको थियो । टोली सोभियत युनियन, फ्रान्स र हंगेरी रहेको समूहमा एक खेल पनि नजिती अंक तालिकाको पुछारमा रह्यो । उसले मेक्सिकोमा एक गोल पनि गरेन ।

दोस्रो पटकको सहभागितामा क्यानाडाका खेलाडीसामू कतारमा राम्रो गरेर देशका लागि विश्वकपमा पहिलो गोल गर्ने कीर्तिमान लेख्न राम्रो अवसर छ ।

१९८६ पछि क्यानाडा कुनै पनि विश्वकपका लागि योग्य हुन सकेन, यसबीच टोलीले २००० मा पाहुना टोली कोलम्बियालाई २-० ले हराएर कन्काकाफ गोल्डकपको उपाधि जित्यो ।

क्यानेडियन फुटबलमा यो ३६ वर्षको अन्तरालमा १२ फरक प्रशिक्षक आए र गए, तर उनीहरुले क्यानाडालाई अन्तर्राष्ट्रिय फुटबलमा माथि उचाल्न सकेनन् । यसबीच क्यानाडा ९ पटक फिफा विश्व वरियतामा एक सय स्थानभन्दा तल झर्यो । २०१४ मा टोली एक सय २२औं स्थानमा थियो, जुन क्यानेडियन फुटबल इतिहासकै सबैभन्दा कम हो । तर यसरी ओराली लागेको क्यानेडियनले फुटबल एक्कासी कसरी पुग्यो लय समायो ?

कारण धेरै छन् ।

एक समय थियो, क्यानाडाका प्रतिभाशाली किशोर खेलाडीलाई युरोपेली एकेडेमीका लागि जतिसक्दो चाँडो देश छोड्न र कहिल्यै फर्केर नआउन सल्लाह दिइन्थ्यो । ओवेन हार्ग्रेभ्स यसको सिद्द उदाहरण हुन् । अल्बर्टामा जन्मेका हार्ग्रेभ्स १६ वर्षको उमेरमा क्यालगरी फुटहिल्स छाडेर बायर्न म्युनिखमा सामेल हुन पुगे । त्यसपछि उनले अन्तर्राष्ट्रिय फुटबलमा क्यानाडाको सट्टा इङ्ल्यान्डको प्रतिनिधित्व गरे ।

तर क्यानाडामा अहिले त्यस्तो छैन । व्यापक रुपमा सुधारिएको एकेडेमी सेटअप र व्यावसायिकताको कारणले क्यानाडा अहिले प्रतिभाशाली खेलाडीलाई आफूसँगै राख्न सक्षम भएको छ । क्यानेडियन फुटबलसँग अहिले एउटा परियोजना छ, जसले प्रतिभाशाली किशोरहरुलाई उत्प्रेरित गर्छ ।

क्यानाडाले अहिले दोहोरो नागरिकता भएकाहरुलाई पनि आकर्षित गर्न थालेको छ । अन्यत्रबाट व्यावसायिक फुटबल खेल्ने क्रममा त्यहीँको नागरिकता लिए पनि क्यानाडाले उसलाई अनागरिक बनाएन र आफ्नो राष्ट्रिय टोलीबाट खेल्न उत्प्रेरित गरिरहयो । सँगै साथमा अन्य देशका युवा प्रतिभालाई क्यानाडा बसाई सराईमा सहज वातावरण बनाएर पनि उनीहरुले प्रतिभा संरक्षणको अभियान चलाइरहेका छन् ।

क्यानेडियन फुटबलका असम्भव नायक हुन् प्रशिक्षक जोन हर्डमेन । २०१८ मा क्यानाडा पुरुष राष्ट्रिय टोलीको नेतृत्व गरेका उनले सात वर्ष महिला टोलीको जिम्मेवारी सम्हालेका थिए । उनको त्यो सात वर्षको कार्यकालमा क्यानाडा महिला टोलीले लण्डन ओलम्पिक र रियो ओलम्पिकमा कांस्य पदक जितेको थियो ।

पुरुष राष्ट्रिय टोलीमा उनको पहिलो काम एकअर्कामा विश्वास निर्माण गर्नु थियो, जुन उनले गरे । उनको नेतृत्वमा टिमले फरक खेल शैली अपनायो । उनी व्यावहारिक छन् । त्यसैले उनले प्रशिक्षण मैदान र मैदान बाहिर आफ्ना खेलाडीबाट विश्वास जिते । उनले कतार विश्वकप अभियानमा खेलाडीको भरपुर समर्थन पाए, त्यसैले त उनी विश्वकपमा क्यानाडाको नेतृत्व गर्ने दोस्रो प्रशिक्षक बनेका छन् ।

क्यानाडा बलियो हुनुको अर्को कारण भनेको टिममा युवा र अनुभवको मिश्रण पनि हो । क्यानाडासँग आज पहिले कहिल्यै नदेखेको प्रतिभाशाली टोली छ । क्यानाडाका लागि बायर्न म्युनिखका अल्फोन्सो डेभिस र लिलेका जोनाथन डेभिड टिमका मुख्य हतियारहरु हुन् ।

उनीहरु बाहेक क्यानाडासँग स्टेफन युस्टाक्कियो, साइल लरिन, ताजोनन बुकानन जस्ता युवा प्रतिभाहरु छन् । त्यसैगरी टिममा एटिबा हचिन्सन, जुनियर होइलेट र मिलन बोर्जन जस्ता अनुभवी खेलाडीहरुको मिश्रण छ ।

यी खेलाडीले महादेशीय विश्वकप छनोटमा राम्रै प्रभाव जमाए । पहिलो चरणमा सतप्रतिशत जित निकालेको टोलीले दोस्रो चरणमा हाइटीलाई ४-० ले पराजित गर्यो । तेस्रो तथा अन्तिम चरणमा क्यानाडा १४ खेलमा आठ जित हासिल गर्न सफल भयो । यो अभियानमा टोलीले मेक्सिको र अमेरिकाबाट ६ मध्ये चारचार अंक खोस्यो ।

टोरन्टोमा भएको १३औं खेलमा जमैकालाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै क्यानाडा ३६ वर्षपछि पहिलो पटक विश्वकपका लागि छनोट भयो । टोलीका लागि साइल लरिनले छनोट प्रतियोगितामा सर्वाधिक १३ गोल गरे ।

क्यानाडाले यसरी नै व्यावसायिकता र सुधारको कामलाई निरन्तरता दिने हो भने उत्तर अमेरिकामा प्रभुत्व जमाउने आशा गर्न सकिन्छ ।

उसोत कतार विश्वकपलाई छनोट नभएको भए पनि क्यानाडाले चार वर्षपछि आयोजकको नाताले विश्वकप खेल्ने थियो । चार वर्षपछि २०२६ मा क्यानाडा, अमेरिका र मेक्सिकोले मिलेर विश्वकप आयोजना गर्दैछन् ।

तर, त्यसअघि नै प्रभावशाली तवरमा विश्वकपमा स्थान बनाएर क्यानाडाले आफूलाई विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको लायक प्रमाणित गरिसकेको छ । अब कतारमा थप केही सुखद नतिजा निकालेर फर्कन सके दीर्घकालिन योजनाका साथ फुटबल विकासमा होमिएको क्यानाडाले लगानीको प्रतिफल मिलेको ठान्नेछ ।

कतारमा क्यानाडाले समूह एफमा बेल्जियम, क्रोएसिया र मोरक्कोजस्ता बलिया प्रतिद्धन्द्धीको सामना गर्नुपर्नेछ । यसकारण टोलीको उद्देश्य सोचेजति सहज भने हुने छैन ।

हेर्नलायक खेलाडी

अल्फन्सो डेभिस (बायर्न म्युनिख)

२२ वर्षे अल्फन्सो डेभिस अहिले विश्व फुटबलमै उत्कृष्ट रक्षकमध्येका एक हुन् । डेभिस क्यानडाको लागि पहिलो अन्तर्राष्ट्रिय सुपरस्टार पनि हुन् । डेभिस युरोपियन च्याम्पियन्स लिग जित्ने पहिलो क्यानाडाली हुन् । डेभिसले २०१९/२० सिजनमा सो उपलब्धि हासिल गरेका थिए ।

बायर्नका लागि क्वार्टरफाइनलमा बार्सिलोनाविरुद्ध डेभिसले गरेको प्रदर्शनको आज पनि उत्तिकै चर्चा हुन्छ । उक्त खेलमा बायर्न ८-२ को फराकिलो अन्तरले विजयी भएको थियो । जसमा डेभिसको भूमिका उल्लेखनीय थियो । बायर्न म्युनिखले त्यस सिजन तेहोरो उपाधि जित्दा डेभिस टोलीका नायक थिए ।

रक्षापंक्तिमा जब्बर हुनाका साथै तिब्र गति, उत्कृष्ट ड्रिब्लिङ, रचनात्मक खेल र क्रसिङ क्षमता डेभिसका विशेषताहरु हुन् । तर केही समययता डेभिसले पर्याप्त खेल खेल्न पाएका छैनन् । कारण उनी बारम्बार घाइते भइरहेका छन् । कतारमा डेभिस पूर्ण रुपमा फिट रहने हो भने उनको प्रदर्शनले क्यानडालाई निकै लाभ हुनेछ । उनीसँगै जोनाथन डेभिड, स्टेफन युस्टाक्कियो, साइल लरिनको भूमिका पनि महत्वपूर्ण रहनेछ ।

विश्वकपमा क्यानडा

विरुद्ध बेल्जियम (अहमद बिन रंगशाला)
मंसिर ७ गते, राति १२ः४५ बजे

विरुद्ध क्ररोएसिया (खलिफा अन्तराष्ट्रिय रंगशाला)
मंसिर १२ गते, राति ९ः४५ बजे

विरुद्ध मोरक्को (अल थुमामा रंगशाला)
मंसिर १५ गते, राति ८ः४५ बजे

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP