फुटबल र राजनीतिबीचको सम्बन्ध बडो गज्जबको छ । एकअर्काप्रति अन्योनन्यास्रित । राजनीतिक अस्थिरताले फुटबलमा प्रत्यक्ष असर गर्छ । राजनीति राम्रो हुँदा फुटबलले पनि गति लिन्छ । अनि यसैगरी राम्रो फुटबलले राजनीतिको समस्या पनि समाधान गरिदिन्छ ।
|
राजनीतिक अस्थिरताका कारण सम्भावना भएर पनि विश्वका थुप्रै देश फुटबलमा पछाडि छन् । कुनै बेला एसियाली राष्ट्र इरान पनि यसको अपवाद थियो । यो कुरा हो १९८० को दशकको, जब राजनीतिक अराजकता र छिमेकी देशसँग भएको युद्धले इरान फुटबलमा पिछडिएको थियो । तर युद्ध सकिएसँगै इरानले फुटबलमा पुनरागमन जनाइरहेको छ ।
१९७८ मा आफ्नो पहिलो विश्वकप खेलेको इरान त्यसपछि देशभित्र भएका आन्तरिक मुद्दाहरुले गर्दा फुटबलबाट टाढा रहनु पर्यो । अहिले राजनीतिक रुपमा इरानलाई पहिला भन्दा सहज अवस्था छ । त्यसैले टोली लगातार तेस्रो र समग्रमा छैटौं विश्वकप खेल्दैछ ।
एसियाली फुटबलमा महारथीको हैसियत स्थापित गरेको इरानले दक्षिण कोरिया, इराक, सिरिया, लेबनान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको समूहबाट शीर्ष टोलीका रुपमा कतार विश्वकपको टिकट काटेको थियो ।
एसियाली छनोटअन्तर्गत अन्तिम चरणमा समूह ‘ए’ मा परेको इरानले समूहका १० मध्ये आठ खेलमा जित तथा एक खेलमा बराबरी नतिजा निकालेको थियो । दक्षिण कोरियालाई दुई अंकले पछि पार्दै शीर्ष टोलीका रुपमा इरानले कतारको टिकट काटेको हो ।
१९२० मा इरान फुटबल संघको स्थापना भएपछि इश्लामिक देशमा औपचारिक रुपमा फुटबल खेलिन थालेको हो । १९४५ मा फिफा तथा १९५८ मा एसियाली फुटबल महासंघ (एएफसी) को सदस्यता लिए पनि इरानमा घरेलु लिगको सुरुआत भने १९७० देखि भएको थियो । १९६८, १९७२ र १९७६ मा लगातार तीन पटक एफसी एसियन कपको उपाधि जितेको इरानले १९७४ को एसियाली खेलकुदको फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । १९९०, १९९८ र २००२ मा पनि इरानी राष्ट्रिय टोलीले त्यही उपलब्धिलाई निरन्तरता दियो ।
विश्वकपमा इरानको इतिहास धेरै लामो छैन । फिफाको सदस्यता लिएको ३३ वर्षपछि १९७८ मा अर्जेन्टिनामा भएको विश्वकपमा इरानले पहिलो पटक सहभागिता जनाएको थियो । विश्वकप १९७८ मा सहभागीमध्ये इरान एक्लो एसियाली देश थियो । दक्षिण कोरिया, कुवेत, अस्ट्रेलिया र हङकङलाई पछि पार्दै अर्जेन्टिनाको टिकट काटेको थियो ।
|
नेदरल्यान्ड्ससँग ३–० को हारका साथ सुरु भएको इरानको विश्वकप यात्रामा स्कटल्यान्डविरुद्धको बराबरी र पेरुसँगको हार थपियो । टोलीको यात्रा समूह चरणमै पूर्णविराम लाग्यो ।
इस्लामिक क्रान्तिलगत्तै देश युद्धमा होमियो । १९७८ जनवरी ७ मा पहलवी वंशलाई पराजित गर्न इस्लामिक क्रान्तिको सुरु भयो । एक वर्ष सम्म चलेको क्रान्तिको शाह मोहम्मद रजा पहलवीले सत्ता छोडेसँगै अन्त्य भयो । त्यसपछि डिसेम्बर १९७९ मा आयातुल्लाह खोमेनी देशको सर्वोच्च नेता बने । उनी करिब दश वर्षसम्म इरानको सर्वोच्च नेताका रुपमा रहे । सन् १९८० को दशकमा इराकसँगको युद्ध (१९८०–८८) का कारण इरानी राष्ट्रिय टोलीले विश्वकपमा भाग लिएन । ८० को दशक इरानी फुटबल ओराली लाग्यो ।
खोमेनी सत्तामा आएपछि सबै फुटबल क्लबहरु राष्ट्रियकरण भए । राष्ट्रिय लिगहरु भंग गरियो । र, महिलाहरुलाई रंगशालाभित्र पुरुष फुटबलको खेल हेर्नमा रोक लगाइयो । जुन ४० वर्ष सम्म कायम थियो । २०१९ अक्टोबर देखि मात्र यो प्रतिबन्धात्मक व्यवस्था हटाइएको थियो । १९८९ मा खोमेनीको मृत्युपछि फुटबलप्रतिको कठोर नीति विस्तारै खुकुलिँदै गयो । त्यही वर्ष राष्ट्रिय लिग पुनर्जीवित भयो । यद्यपि अन्तर्राष्ट्रिय फुटबलमा इरानको पुनर्जागरण चाहिँ १९९० को सुरुमा मात्र भयो ।
इरान १९९० र १९९४ को विश्वकपमा छनोट हुन सकेन । तर यो अवधिमा युवा इरानी खेलाडीहरुको विकास भयो, जसले गर्दा इरानलाई १९९८ को विश्वकपमा छनोट हुन सजिलो भयो । छनोटमा अवे गोलको फाइदा उठाउँदै इरानले अस्ट्रेलियालाई हरायो र दोस्रो पटक विश्वकपको टिकट काट्यो । प्ले अफमा घरेलु भूमिमा १–१ को बराबरी खेलेको इरानले मेलबर्नमा २–२ को बराबरी नतिजा निकालेको थियो ।
फ्रान्स १९९८मा इरान जर्मनी, युगोस्लाभिया र अमेरिका सम्मिलित समूहमा थियो । राजनीतिक हिसाबले पनि इरानका लागि यो समूह कठिन थियो । पहिलो खेलमा युगोस्लाभियासँग १–० ले पराजित भएको इरानको दोस्रो खेल अमेरिकासँग थियो । सन् १९७९ मा अमेरिकी समर्थक शाहलाई सत्ताच्युत गर्ने इरानी क्रान्तिदेखि नै दुई देश बीचको सम्बन्ध शत्रुतापूर्ण बनेको थियो ।
|
त्यसैगरी १९८० देखि ८८ सम्मको इराक–इरान युद्धमा अमेरिकाले इराकलाई प्रत्यक्ष रुपमा सहयोग गरेको थियो । त्यसैले पनि यी दुई देश बीचको खेल राजनीतिक महत्वको थियो । खेललाई फुटबलको कारणले नभई दुई देश इरान र अमेरिकाको कारणले गर्दा धेरै ध्यान दिइएको थियो । फिफाको नियम अनुसार टोली ‘बी’ खेलअघि विपक्षीसँग हात मिलाउनका लागि टोली ‘ए’ तर्फ जानुपर्छ । खेलमा इरान टोली ‘बी’ थियो । तर, खेलको अघिल्लो दिन इरानका सर्वोच्च नेता खामेनीले इरानी टोलीलाई अमेरिकीतिर हिडेर हात नमिलाउन आदेश दिए । जुन फिफाको नियमविपरित थियो ।
तर, मैदानभित्र आश्चर्यजनक दृश्य देखियो । खेलअघि हात मिलाउनुको साटो दुई टोलीले सँगै बसेर फोटो खिच्ने निर्णय गरे । जब रेफ्री उर्स मेयरले दुबै टोलीलाई सँगै सामेल हुन आमन्त्रित गरे, अमेरिकी खेलाडीहरुले शान्तिको प्रतीक सेतो फूलहरुको गुच्छा प्राप्त गरे । सारा संसारका लागि यो शानदार दृश्य थियो । दुवै टोलीले संयुक्त फोटो खिचे र त्यसपछि विश्वकपको इतिहासमा सायद सबैभन्दा राजनीतिक आरोपित खेलको सुरुआतको सीठी बज्यो ।
खेलका दौरान रंगशालाभित्र इरानी प्रशंसकहरुको दुई समूह स्पष्ट रुपमा देख्न सकिन्थ्यो । करिब तीन हजार समर्थकहरु राजनीतिक ब्यानर फहराउँदै थिए । र त्यहाँ इरानी फुटबल प्रशंसक र इरानी राजनीतिक समूह बीच झडप हुन थाल्यो । त्यसपछि खेलकै क्रममा १५० सशस्त्र प्रहरीले समर्थकहरुको समूहलाई घेरा हालेर मैदानमा आक्रमण गर्नबाट रोक्यो ।
इरान २–१ को नतिजामा अमेरिकालाई हराउन सफल भयो । जुन विश्वकप इतिहासमा इरानले हासिल गरेको पहिलो जित हो । फुटबल इतिहासको यो क्षणले मानिसहरुलाई एकसाथ ल्यायो । सारा विश्वको लागि यो एउटा पाठ थियो । खेलपछि दुवै पक्षले जर्सी साटासाट गरे । ‘हामी फरक पृष्ठभूमिबाट आएका हुन सक्छौं, हाम्रा विचार फरक हुन सक्लान । तर हामी शान्तिपूर्वक बाच्न सक्छौं’ भन्ने सन्देश इरान र अमेरिका बीचको खेलले दिएको थियो ।
समूहको तेस्रो खेलमा जर्मनीसँग २–० ले पराजित भएपछि इरान पनि समूह चरणबाटै बाहिरियो । अमेरिका यसअघि इरानसँग पराजित भएपछि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो ।
इरानले प्लेअफमा आयरल्यान्डसँग पराजित भएपछि चार वर्षपछिको विश्वकप २००२ गुमायो । त्यसको चार वर्षपछि २००६ जर्मनीमा अली दाईको कप्तानीमा पुगेको टोलीले समूह चरण पार गर्न सकेन । २०१० विश्वकपमा इरान छनोट हुन सकेन ।
|
इरानले २०१४ र २०१८ दुवै संस्करणको विश्वकप खेल्यो । छनोटको अन्त्मि खेलमा दक्षिण कोरियालाई हराएपछि २०१४ को विश्वकपलाई इरान छानियो । तर ब्राजिलमा समूह चरणबाटै टोलीको यात्रा टुंगियो भने चार वर्षअघि रुसमा पनि इरानको नतिजा उस्तै रहयो ।
मंसिर चार गतेबाट सुरु हुने विश्वकपका लागि कतारमा जम्मा हुने पाँच एसियाली देशबीच इरान फिफा विश्व वरियताको सबभन्दा माथि छ । समूह ‘बी’मा रहेको इरानले नोभेम्बर २१ मा इङ्ल्यान्डविरुद्ध खेल्दै कतार विश्वकपको यात्रा थाल्नेछ । त्यसपछि समूहको दोस्रो र तेस्रो खेलमा क्रमश: नव प्रवेशी वेल्स र अमेरिका इरानका प्रतिद्धन्द्धी हुनेछन् ।
विश्वकप आउन दुई महिना मात्र बाकी रहँदा इरानले गत सेप्टेम्बरमा पूर्व प्रशिक्षक कार्लेस क्विरेजलाई पुन: टिमको जिम्मेवारी दिएको थियो । क्विरेजको नेतृत्वमा इरानले पछिल्ला दुई विश्वकप खेलेको थियो । सहभागी कुनै पनि विश्वकपमा दोस्रो चरण प्रवेश गर्न नसकेको इरानलाई यो पाली पनि सजिलो छैन । तर, क्विरेज छुट्टै योजनाका साथ कतार जानेछन्, कम्तिमा नकआउट चरण पुर्याउने लक्ष्यसहित ।
हेर्नलायक खेलाडी
सरदार अजमोन (बायर लेभरकुसन)
२७ वर्षे फरवार्ड सरदार आजमोन कतारमा इरानको मुख्य खेलाडी हुने छन् । जर्मन बुन्डेसलिगाको बायर लेभरकुसनबाट व्यावसायिक फुटबल खेलिरहेका आजमोनले करियरमा रुबेन कजान, रोस्तोभ र जेनिट सेन्ट पिट्सबर्गजस्ता क्लबबाट खेलिसकेका छन् ।
इरानलाई लगातार तेस्रो विश्वकपमा पुर्याउन उनले छनोट चरणमा सर्वाधिक १० गोल गरेका थिए । २०१४ मा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका आजमोनले ६५ खेलमा ४१ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । उनी युरोपियन च्याम्पियन्स लिगमा सबभन्दा धेरै गोल गर्ने इरानी खेलाडी हुन् ।
इरानका लागि मेहदी तारेमी, अहमद नौरल्लाही, उमिद नुरफगान र अमिर अमेदजादेहबाट पनि कतारमा उच्च प्रदर्शन अपेक्षा गरिएको छ ।
विश्वकपमा इरान:
विरुद्ध इङ्ल्यान्ड (खलिफा अन्तर्राष्ट्रिय रंगशाला)
मंसिर पाँच गते, साँझ ६:४५ बजे
विरुद्ध वेल्स (अहमद बिन रंगशाला)
मंसिर ९ गते, दिउसो ३:४५ बजे
विरुद्ध अमेरिका (अल थुमाम रंगशाला)
मंसिर १३ गते, राति १२:४५ बजे