प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता

सुदूरपश्चिमलाई प्रदेश एकको एक सय दुई रनको लक्ष्य

काठमाडौं । प्रदेश एकले प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशसामू एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ ।

इटहरीस्थित जनता क्रिकेट पार्कमा टस जितेर ब्याटिङ राजेको प्रदेश एकले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय एक रनको योगफल तयार पारेको थियो । 

प्रदेश एकका लागि काजल श्रेष्ठले ६३ बलमा आठ चौका मद्दतमा अविजित रहँदै सर्वाधिक ४८ रनको योगदान दिइन् ।  यसैगरी अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोडे ।

सुदूरपश्चिमका लागि मनिषा चौधरीले दुई तथा ऋतु कनोजियाले एक विकेट लिए ।

प्रदेश एकले दोस्रो सेमिफाइनलमा साबिकको विजेता नेपाल एपीएफ क्लबलाई आठ  विकेट तथा सुदूरपश्चिमले पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई एक सय ८१ रनले हराएर फाइनलमा स्थान बनाएका हुन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार रुपैयाँ पाउनेछन् ।