अमेरिकालाई नेपालको १ सय ७५ रनको लक्ष्य

काठमाडौ, (खेलाडी)- कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले आइसीसी विश्व क्रिकेट लिग दुई मा आफ्नो तेस्रो खेलमा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबे विकेट गुमाउदै १ सय ७४ रन मात्र जोड्न सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको योगदान गर्दा ओपनर कुशल भुर्तेलले ३६ र गुल्सन झाले २८ रनको योगदान गरे ।

५ रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालको इनिङ दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ५१ रनको साझेदारीका साथ उकासेका थिए । कुशलले करिमा गोरेबाट बोल्ड हुनुअघि ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

कुशल पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका रोहित कुमार पौडेलले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । रोहितले २ रन मात्र जोडे ।

त्यसपछि ब्याटिङका लागि आएका विनोद भण्डारी पनि मात्र १० रनमा पवेलियन फर्किएपछि नेपाल ८९–४ को अवस्थामा आएको थियो । पाँचौ विकेटका लागि ज्ञानेन्द्रले गुल्सनसँग ५१ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।

अमेरिकाविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका गुल्सनले ५३ बलमा २ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।

ज्ञानेन्द्रले १ सय ५ बलमा ३ चौका प्रहार गरे ।

अमेरिकाका कप्तान सौरब नेत्राभाल्करले चार काइले फिलिप्सले तीन र करिम गारेले दुई विकेट लिए ।

पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो ।