क्यान-इपिएल विवाद

सेभेन थ्री स्पोर्टसलाई तामेलीमा आउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले एभरेष्ट प्रिमियर लिग (इपिएल) ले हालेको रिटमा विपक्षी बनाइएको सेभेन थ्री स्पोर्टसलाई तामेलीमा आउन आदेश दिएको छ ।

इपिएलले नेपाल क्रिकेट संघ (क्यान), राष्ट्रिय खेलकुद परिषद् (राखेप), खेलकुद मन्त्रालय र सेभेन थ्री स्पोर्टसलाई विपक्षी बनाएर रिट दर्ता गराएको थियो । जसमा क्यान, राखेप र खेलकुद मन्त्रालय प्रकृयामा आउँदा सेभेन थ्री स्पोर्टस भने प्रकृयामा आउन सकेको थिएन । यसैकारण अदालतले सेभेन थ्री स्पोर्टसको नाममा म्याद तामेल गर्न र तामेल भएको मितिले तीन दिनभित्र अन्तरिम आदेश छलफलको लागि पेश गर्न आदेश जारी गरेको छ । 

इपिएलका सिइओ आमिर अख्तरले सेभेन थ्री स्पोर्टस प्रकृयामा नआएकाले अदालतले तामेलीमा आउन आदेश जारी गरेको बताए ।

‘इपिएलले क्यान, राखेप, खेलकुद मन्त्रालय र सेभेन थ्री स्पोर्टसलाई पनि विपक्षी बनाउको छ । यीमध्ये क्यान, राखेप र खेलकुद मन्त्रालय प्रकृयामा आउदा सेभेन थ्री स्पोर्टस भने आएको थिइन । यसैकारण अदालतले सेभेन थ्री स्पोर्टसलाई तामेलीमा आउन भनेको हो,’ इपिएपलका सिइओ आमिर अख्तरले भने । 

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले सेभेन थ्री स्पोर्टस अदालतको आदेशअनुसार तामेलीमा आउने बताए ।

‘अदालतले म्याद तामेली गर्न भनेको हो । सेभेन थ्री स्पोर्टस भारतीय कम्पनी हो र अदालतले दिएको आदेशअनुसार कम्पनी म्याद तामेलीमा आउछ,’ क्यानका कार्यवाहक सचिव मल्लले भने ।